काङ्ग्रेसले ल्याएको लोकतन्त्र लहडले नामेट पार्न सक्दैन

प्रकाशित मिति:

गुरु प्रसाद भटराई । इतिहास साक्षी छ, नेपाली कांग्रेस र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन् । सात सालमा राणा शासन अन्त्य गरि प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व देखि नै नेपाली कांग्रेस जनताको सार्वभौमिकताको लागि संघर्ष गर्दै आएको छ । सात सालको आन्दोलन पछि प्राप्त लोकतन्त्र सत्र सालमा राजाले ‘कु’ गरि अपहरण गरेपनि लोकतन्त्र प्रतिको कांग्रेसको अभियान रोकिएन । ०४६ सालमा पुर्नस्थापना भएको प्रजातन्त्र फेरी राजाले खोसे । लोकतन्त्र यसरी पटक पटक ‘महाराज’वाट अपहरण भैरहेपछि दोस्रो जनआन्दोलनका कमाण्डर हाम्रा स्वर्गिय नेता गिरिजा वावुले ‘अव कसैले खोस्न नसक्ने गरि लोकतन्त्र ल्याउन आन्दोलन’ गर्न आव्हान गरेका थिए । जनता सडकमा आए, लोकतान्त्रिक गणतन्त्र पनि स्थापना भयो । जनताले चुनेका सार्वभौम संविधानसभाले २०७२ मा जारी गरेको संविधानले जनआन्दोलनको म्यान्डेड अनुसार संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्‍यो ।

गिरिजाबाबुले भनेझै लोकतान्त्रिक गणतन्त्र त स्थापना भयो । राजा, महाराजाले खोस्न नसक्ने गरि संस्थागत पनि भयो तर, लोकतन्त्रको आवरणमा निरंकुशताको आकांक्षा राखेका कम्युनिष्ट नेता केपी ओलीले खोस्ने दिवास्वप्न देख्न थाले । कमरेड ओलीले आफ्नो असली चरित्र समयमै देखाएका छन् । हो, अहिले नेकपा सरकार अलोकप्रियताको चरम शिखरमा छ । त्यसमाथी नेकपा आफैपनि विभाजित मानसिकतामा छ । दुइटा पार्टी बनेका छन् । यो समयमा हुने निर्वाचन कांग्रेसको हकमा अनुकुल नै हुन्छ । तर, लोकतन्त्र र संविद्यान भन्दा माथी सत्ता होइन । संविद्यानले नै कल्पना नगरेको यस्तो निर्वाचनले अस्थीरतालाई संस्थागत गर्छ । र, कालन्तरमा फेरी लोकतन्त्रकै घाटी नेमोठिने अवस्था सिर्जना हुदै छ ।

लोकतान्त्रीक गणतन्त्रको नेतृत्व गर्दा हाम्रा नेताहरुले स्थापना गर्न खोजेको तन्त्र अहिलेको ओलीतन्त्र थिदै थिएन । संविद्यानको अक्षर र भावना दुवै यस्तो थिएन । तर, राष्ट्रपति आफ्नो ‘कोटरी’कै सदस्य हुन् भन्दैमा ओलीले मनपरि गर्नु कदापी क्षम्य हुन सक्दैन । कांग्रेसले यसको विरुद्ध सडकमा ओर्लीसकेको छ । फेरि पनि इतिहास नै साक्षी छ, सडकमा ओर्लेको कांग्रेस यस्ता तानाशाहालाई ठेगान लगाएर मात्रै फर्किन्छ । लेखक गुरु प्रसाद भटराई नेपाली कांग्रेसका युवा नेता हुन् ।