कोटाकोट बेसीमा निर्माणाधीन दुर्गा मन्दिरमा गजुर राख्ने काम सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ कोटाकोट बेसीमा निर्माणाधीन दुर्गा मन्दिरमा गजुर राख्ने काम सम्पन्न भएको छ । समाजकल्याण युवा परिवार कोटाकोट बेसीको पहलमा निर्माण भइरहेको उक्त मन्दिरको लागि कालीगण्डकी गाउँपालिका वडा २ गकुरेलीटोल निवासी जानुका पाण्डेयले मन्दिरको मूुल गजुर र कोटाकोटबेसी साँधी निवासी शालिकराम पाण्डेयले ४ वटा सहायक गजूर प्रदान गर्नुभएको थियो । समाजकल्याण युवा परिवारका सदस्यहरु लगायत देश तथा विदेशमा रहनुहुने विभिन्न व्यक्तिहरुले स्वतः स्फुर्त रुपमा आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् ।

मन्दिर निर्माणका लागि स्थानीय जनताबाट स्वैच्छिक रुपमा प्रदान गरिएको २७ लाख प्रदेश सभा सांसद भागवत प्रकाश मल्लको सांसद विकास कोषबाट रु। १० लाख र कालीगण्डकी गाउँपालिकाबाट ३ लाख र गरी करिब ४० लाख रुपैयाँ खर्च भइसकेको छ । मूल मन्दिरको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको र अन्य सहायक संरचना निर्माणको काम अघी बढेको समाजकल्याण युवा परिवार तथा दुर्गा मन्दिर निर्माण समितिले जनाएको छ । समितिका अनुसार अब मूल मन्दिरको छाना फिनिसिङ् गर्ने, टुँडाल राख्ने र मूर्ति राख्ने काम मात्र बाँकी रहेको छ । मूल मन्दिर निर्माण सकिने बित्तिकै यज्ञ मण्डप र हवन कुण्ड निर्माण गरी आगामी दशैं सम्म मन्दिरमा प्राण–प्रतिष्ठा गरिने लक्ष्य राखिएको निर्माण समितिका अध्यक्ष लिलामणी भट्टराईले बताउनु भयो । मन्दिर निर्माणको लागि हाल सम्म करिब १२५ जनाले आर्थिक र जिन्सी सहयोग गरिसकेका छन् । सबै भन्दा बढी हाल लण्डन निवासी अर्जून पाण्डेयले रु। पाँच लाख रुपैयाँ र पोखरा निवासी दयानिधी पाण्डेयले १ लाख बयासी हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । मन्दिर र सहायक संरचना निर्माणको लागि करिब १ करोड रुपैयाँ लाग्ने र मन्दिर यस क्षेत्रकै गौरवको रुपमा विकास गरिने क्लबका अध्यक्ष लिलामणी पाण्डेयले बताउनुभयो । मन्दिरको लागि हुम प्रसाद पाण्डेयले करिब १ लाख रुपैयाँको घण्ट प्रदान गर्नुभएको छ । मन्दिर निर्माण समिति अब टुँडाल र मूर्तिहरु दान गर्ने दाताको खोजीमा रहेको छ ।