नेकपामा तत्कालिन एमालेका नेपाल पक्षको आक्रोश , पार्टीमा पक्षपात भयो

प्रकाशित मिति:

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष आज (बुधबार) महासचिव बिष्णु पौडेल मार्फत ज्ञापनपत्र बुझाएका छन् । अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेकपा राजनीतिक र सांगठानिक रुपमा शिथिल भएको भन्दै तत्काल बैठक बोलाउन माग गरिएको छ । तत्काल पोलिटव्यूरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुंग्याउन उनीहरुले माग गरेका छन् । पार्टीमा पक्षपातले सीमा नाघेको ज्ञापन पत्र बुझाउने २२ केन्द्रीय सदस्यको साझा निष्कर्ष छ ।ज्ञापनपत्रमा जिम्मेवारी वितरणमा हैदसम्म पक्षपात पूर्ण व्यवहार गरिएको भन्दै कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपिएको छ भने मन नपरेका मानिसहरुलाई जिम्मेवारीविहीन बनाइएको उल्लेख छ

‘हालै सचिवालयका नाममा गरिएको प्रादेशिकस्तरको कार्य विभाजनले त पक्षपातको सीमा नै नाघेको भन्दै उनीहरुले ‘विधि हेरेर होइन, व्यक्ति हेरेर दोहोरो चरित्र देखिने गरी मुख्यमन्त्री तथा सांसदहरुलाई प्रदेशको पार्टी कामको कार्यकारी जिम्मेवारी प्रदान गरिएको आरोप लगाउँदै अन्य पदमा पनि मनलाग्दी गरिएको बताएका छन् । पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी कमिटी सदस्यहरुलाई कामविहीन बनाएनु पार्टी कामप्रतिको हदैसम्मको लापरवाही र असफलता भएको नेताहरुले बताएका छन् ।

सरकारले मुलुकको दीर्घकालीन हितका लागि पूर्वाधार विकासमा केही राम्रा काम थालेको तर, सुशासनको क्षेत्रमा सरकार सर्वत्र आलोचित भएको नेकपाका २२ केन्द्रीय सदस्यको ठहर छ । भ्रष्टाचार, महंगी, कालोबजारी नियन्त्रण, शान्ति सुरक्षा कायम जस्ता विषयमा सरकार कामजोर भएको भन्दै नेताहरुले सरकारमाथि सबैको भरोसा टुट्ने त होइन भन्ने आशंका व्यक्त गरेका छन् । ‘सरकारले गरेका प्रयासहरु भन्दा उनीका क्रियाकलापका कारण आलोचनाको चाङ धेरै अग्लो बनेको छ’ २२ नेताले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘सरकार मात्र होइन, राष्ट्रप्रमुख र उपप्रमुख पनि सुविधाभोगको लपेटामा वेरिदै गरेको दुःखदायी स्थिति प्रकट भइरहेको छ ।’

ज्ञापनपत्र बुझाउने २२ केन्द्रीय सदस्यहरु तत्कालिन नेकपा एमालेभित्र माधव नेपाल समूहका डा। विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, सत्रुघन महतो, जयन्ती राई, ममता गिरी, रामकुमारी झाँक्री, निरज आचार्य, तुलबहादुर गुरुङ, माधव अर्याल, विजय गुरुङ, लगायत छन् ।