नेबिसंघको महाधिवेशनको मिति तोकिएपछि महामन्त्री काफ्लेले अस्पतालबाटै गरे खुशी ब्यक्त !

प्रकाशित मिति:

मङ्सिर १२ काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म हुने निर्णय भएपछि महामन्त्री कुन्दन काफ्लेले अस्पतालबाटै खुशी ब्यक्त गरेका छन् ।

नेविसङ्घले मंगलबार पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छोटो समयमै पनि महाधिवेशन गराउन सफल भए अहिलेको कार्यसमिति सफल ठहरिने भन्दै अब केही दिनमै आफू पनि युद्धस्तरमा महाधिवेशन सफल गराउन लाग्ने प्रतिक्रिया दिएका छन् ।

काफ्ले केही दिनअघि हृदयघातको समस्या भएपछि गंगालाल हृदय रोग केन्द्रमा उपचाररत छन् । उनी सम्भवतः बुधबार साँझसम्म डिस्चार्ज हुन सक्ने पारिवारिक स्रोतले बताएको छ ।

काफ्लेले माउ पार्टी नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको चुनावी महाधिवेशनका लागि दुई महिनाको मात्र समय थप गरेपछि चुनाव नगराउने खेल भएको भन्दै आक्रोश पोखेका थिए ।

त्यसपछि उनले राजीनामा दिने तर अपजश नलिने निर्णय गर्ने जनाएका थिए । अचानक हृदयघातको समस्या आएपछि आरामरत उनले नेतृत्वले नै चुनावी मिति तोकेपछि अब सफल बनाएर नयाँ पिँढीलाई मार्गप्रसस्ती गर्ने जनाएका छन् ।

मंगलबारको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताएका थिए ।

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने नेविसङ्घले जनाएको छ ।

तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेविसङ्घले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिएका थिए ।

यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोके पनि विधान र उमेरहद विवादका कारण नेविसङ्घको महाधिवेशन हुन सकेको थिएन । उमेर हद नै लगाएपछि अहिलेको कार्यसमितिका अधिकांशले आगामी महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।

३२ वर्षे उमेर हद तोकिएको हो ।

यसैबीच, महामन्त्री काफ्लेले अब नेविसंघमा उमेर हद लगाएजस्तै काँग्रेसमा पनि यो हदबन्दी लगाउनु पर्ने पक्षमा उत्रिएका छन् । उनले नेविसंघको महाधिवेशन सकिएपछि काँग्रेसमा ७० वर्षे उमेर हदबन्दी तोक्न दवाव दिन आन्दोलन गर्ने बताएका छन् । उनले भने, ‘नेविसंघमा उमेर हद लगाएपछि अब काँग्रेसभित्र पनि उमेर हद लाग्नुपर्छ, ७० वर्षको मापदण्ड बनाइनु पर्छ । उनले नेविसंघ महाधिवेशन सफल पार्न सबैमा आव्हानसमेत गरेका छन् । उनले समयको हदैसम्म प्रयोग गर्न पनि आग्रह गरेका छन् ।