मङ्सिर १७ काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट पश्चिमाञ्चल खेलकुद विकास समितिमा नियुक्त उपाध्यक्ष सुनिलकुमार गुरुङसहित तीन सदस्यले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसमक्ष संयुक्त राजीनामा दिएका छन् ।
‘तत्कालीन समयमा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकार रहेको अवस्थामा हामी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा नियुक्त भएका थियौं । परिवर्तित राजनीतिक सन्दर्भ र राज्यको तीन तहको संरचना अनुसार समग्र पश्चिमाञ्चल क्षेत्र प्रादेशिक संरचनामा गइसकेको हुँदा र नेपाली कांग्रेस सरकारमा नरहेको अवस्थामा समितिले गर्ने कार्यसम्पादन, योजना निर्माण र कार्यान्वयनमा सहजता आओस् भन्ने हेतुले यो राजिनामा पेश गर्दछौं,’ संयुक्त राजीनामा उल्लेख छ ।
उपाध्यक्ष गुरुङसहित सदस्यहरु राजेन्द्र पहारी, देवेन्द्र केसी र राजु गुरुङले उपाध्यक्ष हुनाका बावजुद अध्यक्षको अनुपस्थितीमा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएकोमा असन्तुष्टि राख्दै राजीनामा दिएको बताइएको छ । पश्चिमाञ्चल खेलकुद विकास समितिमा एमालेका तर्फबाट नियुक्त अध्यक्ष खगराज पौडेल हाल विदेशमा रहँदा उनको ठाउँमा उपाध्यक्षलाई बेवास्ता गर्दै आफ्नै दलका तर्फबाट नियुक्त गरिएका सदस्य सम्पन्न श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिइएको थियो । पौडेल नफर्किने भन्दै अहिले श्रेष्ठलाई नै अध्यक्षमा नियुक्त गरिएकोमा पनि उनीहरुको आक्रोश रहेको बताइन्छ ।












