धेरै संचारमाध्यमले दशैंमा के खाने ? के नखाने ? भनेर सोधिरहनु भएको छ | पुस्तक लेखनको व्यस्तताको कारण सबैलाई समय दिन असमर्थ छु | तथापी आफ्नो ज्ञान, अनुभव र सीप बहुजन हितायको लागि प्रयोग गर्ने लक्ष्य अनुरुप केहि कुरा लेखेको छु | यसैलाई प्रकाशन / प्रसारण / सेयर गर्न सक्नुहुनेछ | चाडपर्व वा त्यसको अघिंपछि खानामा धेरै फरक गर्नु जरुरी छैन | आफ्नो उपलब्धता अनुसार सफा र स्वस्थ बनाएर सेवन गर्नु नै सर्वोत्तम योजना हो |
.
सर्वोत्तम खाना कस्तो हुन्छ ? १. पोषिलो : प्राकृतिक तथा घरेलु खाना जसमा पोषण ( कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, मिनरल्स आदि ) प्राप्त हुन्छ |२. ठिक्क मात्रा : हरेक खाना न बढी न थोरै खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ | आफ्नो पाचन शक्ति, शारीरिक परिश्रम तथा उमेर / तौल अनुसार हल्का हुने गरी खाना खानु स्वस्थकर हुन्छ |३. भेराइटी : हामीले खानेकुरा खाँदा जति भेराइटी खान्छौं, त्यति नै स्वस्थकर हुन्छ | हरियो सागसब्जी, फलफूल, दुध, दही, गेडागुडी, अण्डा, माछामासु, सुप, नट लगायतका खाना आफ्नो रुचि र उपलब्धता अनुसार सेवन गर्नु उपयुक्त हुन्छ |४. खानामा नुन, चिनी, जनावरको बोंसो / घ्यू , जंक फुड, मदिरा, फ्राइ गरेका खाना, बजारका खाना, कोल्ड ड्रिंक्स, धेरै पिरो / धेरै चिल्लो / मसालेदार खाना आदि एकदम कम खानु / नखानु स्वस्थकर हुन्छ
|५. खाना ताजा र सफा हुनु अत्यावश्यक छ |६. मांसाहारीले मासु खाँदा बोंसो, छाला नखाने, मासु बराबर सागसब्जी, त्यहि बराबर हरियो सलाद, त्यहि बराबर दही / मही, त्यहि बराबर टुसा उमारेका गेडागुडी, त्यहि मात्रा अन्न तथा प्रशस्त पानी सेवन गर्ने हो भने अपचलगायतका समस्या हुँदैन | ७. चाडपर्वमा धेरै व्यक्तिलाई फुड प्वाइजनिंग, तीब्र अम्लपित्त, माइग्रेन, मुटुको समस्या आदि हुने गर्दछ | तसर्थ पोषण अनुशाशनमा रहनु राम्रो हुन्छ | स्वास्थ्य राम्रो भएमा दैनिक पर्व हुन्छ |८. पेट खाली नगर्ने तथा सादा खाना खाने बानीलाई चाडपर्वमा पनि निरन्तरता दिनु राम्रो हुन्छ |












