काँग्रेस महासमिति बैठकमा हिन्दु धर्मको मुद्धा एजेण्डा बनाउन दवाव, हस्ताक्षरमा तिव्रता

प्रकाशित मिति:

काठमाडौं पौष २ ।

नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी सदस्यहरुले हिन्दुधर्मको पक्षमा हस्ताक्षर संकलन गर्ने क्रमलाई तिव्रता दिएका छन् । हस्ताक्षर संकलन अभियानका सदस्य एवं महासमिति सदस्य मिनकृष्ण महर्जनका अनुसार सोमबार साँझ सम्म ७ सय ८० महासमिति सदस्यले हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका छन् ।

बैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि नेपाली कांग्रेस महासमिति बैठक मार्फत हिन्दु राष्ट्रका लागि भन्दै आइतबार देखि कांग्रेसको महासमिति बैठक स्थलमा हस्ताक्षर संकलन अभियान जारी गरिएको थियो ।

सो अभियान अन्तरगत पहिलो नम्बरमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले हस्ताक्षर गरेका थिए । त्यस्तै हिन्दु धर्मको पक्षमा कांग्रेस नेताहरु इन्द्र बानियाँ ,कर्ण मल्ल , शंकर पाण्डे ,रमेश पाण्डे लगायतले हस्ताक्षर गरेका छन् । अभियानमा सोमबार कांग्रेस केन्द्रीय सदस्य तथा सचेतक पुष्पा भूषालले समेत सर्मथन जनाएकी छन् ।

संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको छ । हस्ताक्षर संकलन मंगलबार पनि जारी रहने महासमिति सदस्य महर्जनले जानकारी गराए । अभियानका सदस्यहरुलाई एजेण्डाको रुपमै लैजाने योजना बनाएका छन् ।