तिलोत्तमा नगरपालिकाको उदाहरण,ईच्छाशक्ति भए स्थानीय सरकारले धेरै काम गर्न सक्छन्

प्रकाशित मिति:

विष्णु अर्याल/मुलुक संघीय संरचनामा गैसकेपछि पहिलो पटक वि.सं. २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको हो ।अहिले स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० मा तोकिएको छ ।यसअघि केन्द्रीकृत शासकीय व्यवस्थामा रहेका स्थानीय निकायले संघीय संरचनाअनुसार स्थानीय सरकारको रुपमा काम गर्न थालेको पाँच वर्ष भयो । तर, यसअघि पनि केही हदसम्म नगरपालिकाहरुले स्थानीय स्वायत्त शासन ऐनअनुसार साविकका गाविसहरुलाई भन्दा बढी अधिकार प्राप्त गरेका थिए । नगरपालिकाहरुलाई अहिलेको जस्तो अधिकार प्राप्त नभए पनि गाविसहरुलाई भन्दा धेरै अधिकार थियो ।

नयाँ संविधानअनुसार शासकीय व्यवस्थामा आएको परिवर्तनले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जस्तै अधिकार प्राप्तभयो ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारका काम, कर्तव्य र अधिकारलाई स्पष्ट पारेको छ ।स्थानीय तहले व्यवस्थापिकाको रुपमा कानुन निर्माण गर्छन्, कार्यपालिकाको रुपमा सरकार चलाउँछन् भने न्यापालिकाको रुपमा न्यायिक समितिमार्फत् न्यायिक निरुपण गर्छन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार स्थानीय तहले कार्य सम्पादन गर्दै आएका छन् ।

वास्तवमास्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । जनताको सुख, दुःखमा साथ दिने सरकारको रुपमा स्थानीय तहलाई लिने गरिन्छ । नागरिकलाई परिवर्तनको अनुभूति दिलाउने भनेकैं स्थानीय सरकारहरु हुन् । त्यसैले स्थानीय सरकारलाई संघीयताको आधार स्तम्भको रुपमा लिने गरिन्छ ।अहिले मुलुक स्थानीय चुनावको माहोलमा छ । राजनीतिक दल तथा नेताहरु आ—आफ्ना एजेण्डा लिएर जनतामाझ गैरहेका छन् । पाँच वर्षको अवधिमा केही अपवादबाहेक धेरैजसो स्थानीय तहले राम्रो काम गरेका छन् । संघीय र प्रदेश सरकारका नीति, कार्यक्रम, बजेट, आयोजनाहरु समेत स्थानीय सरकारमार्फत् कार्यान्वय हुने भएकोले आमजनताहरु संघीय र प्रदेश सरकारले के गर्दैछ भन्ने कुराप्रति खास सरोकार राख्दैनन् । काम हुँदाको जस वा काम नहुँदाको अपजस स्थानीय सरकारलाई नै दिने गर्छन् । यसैले स्थानीय सरकार आफैंमा निकै महत्वपूर्ण, जिम्मेवार र संवेदनशील जनतासँग प्रत्यक्ष जोडिएको सरकार हो ।

स्थानीय सरकारको नेतृत्वले चाहने हो भने परिवर्तन पनि सम्भव छ । सबै अधिकार प्राप्त भएकोले स्थानीय सरकारको नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन सम्भव छ । हामीकहाँ विकास भनेको भौतिक पूर्वाधारलाई लिने गलत परम्परा छ । भौतिक पूर्वाधार विकासको काम गर्न ठूलो बजेट चाहिन्छ । तर, सामाजिक विकासका काम गर्न थोरै बजेट भए पनि सम्भव छ । स्थानीय सरकारले नीतिगत निर्णय, स्थानीय कानुन निर्माण गर्दा पनि परिवर्तन आउँछ भन्ने कुराको उदाहरण रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रस्तुत गरेको छ । गत वर्ष मुलुक भरीका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामध्ये सर्वोत्कृष्ट हुन सफल तिलोत्तमा नगरपालिकाले पाँच वर्षमा गरेका प्रमुख कार्यहरुलाई यो आलेखमा समावेश गरिएको छ ।

तिलोत्तमा नगरपालिकाले गरेका यी कामहरु अन्य पालिकाहरुको लागि सिकाइ समेत हुने र अब आउने नयाँ नेतृत्वले समेत आफ्नो एजेण्डा बनाउन सक्ने भएकोले तिलोत्तमाका असल अभ्यासलाई उजागर गर्न खोजिएको हो । तिलोत्तमा नगरपालिका स्थानीय सरकार गठन भएपश्चात मुलुकमैं चर्चामा रह्यो । लामो समयदेखि स्थानीय जनप्रतिनिधि नहुँदा रोकिएका कामहरुले गति लिएपछि एक प्रकारले विकासको ठूलो लहर आयो ।

पाँच वर्षमा तिलोत्तमाले के गर्यो ?
नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको माध्यमबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित रहेर २०७१ सालमा स्थापना भएको तिलोत्तमा नगरपालिका २०७३ सालमा स्थानीय सरकारको रुपमा कायम भएको हो । साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, मधवलिया, टिकुलिगढ र गंगोलिया गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा २०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले २०७४ असार २१ गते पदभार ग्रहण गरी कार्य प्रारम्भ गर्नुभएको थियो ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जना वडाध्यक्ष र नेपाली काँग्रेसबाट ४ जना वडाध्यक्ष निर्वाचित हुनु भएको थियो । २७ सदस्यीय कार्यपालिकामा नेकपा एमालेको तर्फबाट २४ जना, नेपाली काँग्रेसको तर्फबाट ४ जना तथा ९० जनाको नगरसभामा नेकपा एमालेको तर्फबाट ६९ जना, नेपाली काँग्रेसको तर्फबाट १५ जना र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट ५ जनाले प्रतिनिधित्व गर्नुभएको छ ।

 

जनप्रतिनिधिले गरे वाचाअनुसारको काम
निर्वाचनको बेला जनता सामू गरेको वाचाअनुसार नगर प्रमुख बासुदेव घिमिरेले नगरका मुख्य सडकलाई स्तरीय गा्रभेल गर्ने निर्णयमा हस्ताक्षर गरी आफ्नो कार्यभार सुरु गर्नुभएको थियो । त्यसयता चुनावमा जनाएको प्रतिबद्धता र घोषणापत्रअनुसार यस नगरका जनप्रतिनिधिहरुले कार्य सम्पादन गरी तिलोत्तमालाई मुलुककैं एउटा नमूना नगरको रुपमा विकास गर्नुभएको छ ।

नयाँ नगरपालिका भएकोले मानवीय तथा भौतिक स्रोत–साधनको कमीलगायतका तमाम समस्या र चुनौतीबाट माथि उठेर जनप्रतिनिधिहरुले यसबीचमा जति काम गर्नुभयो, ती कामले नगरबासीको परिवर्तनप्रतिको तीव्र चाहानालाई सम्बोधन गर्न सकेको देखिन्छ । “समृद्ध नगर : खुसी नगरबासी” को चाहानालाई पूरा गराउने क्रममा जनप्रतिनिधि आइसकेपछि यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भैसकेका छन् भने कतिपय हुने क्रममा छन् ।
लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिका रुपमा स्थापित गर्दै शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरबासीले गर्न सकून् भन्नेमा जनप्रतिनिधिहरु सधैं प्रयत्नशील रहँदै आउनुभएको छ । नगरमा योजनाबद्ध र प्राथमिकताका आधारमा विकास निर्माणका काम हुँदै आएका छन् । यहाँका जनप्रतिनिधि, कर्मचारीहरुले ‘मालिक होइन, सेवक हौ’ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रलाई आफ्नो मार्गदर्शनका रुपमा ग्रहण गर्नुभएको छ ।

तिलोत्तमा नगरपालिकाले चलाएका विभिन्न अभियान, विकास निर्माण तथा नीतिगत निर्णय; देश भित्रका विभिन्न कार्यक्रम तथा मञ्चहरुमा नगर सरकारको प्रभावशाली उपस्थिति एवं प्रस्तुतीले राष्ट्रिय स्तरमा तिलोत्तमाको पहिचान, विश्वास र आकर्षण बढेको छ । नगर सरकारको विकास प्रयासमा प्रदेश सरकार, संघीय सरकार, विकास साझेदारहरुको साथ र सद्भाव वृद्धि भएको छ ।समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर; सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोंचका साथ ५ वर्षको आवधिक र १५ वर्षको रणनीतिक योजना निर्माण गरेर यहाँ भौतिक तथा सामाजिक विकासका कामहरु योजनाबद्ध रुपमा अघि बढेका छन् ।

कानुन बनाउने, लगानी सम्मेलन गर्ने पहिलो पालिका
तिलोत्तमा नगरपालिका स्थानीय कानुन निर्माण गर्ने नेपालको पहिलो स्थानीय तह हो । नगरबाट सम्पादन हुने कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने क्रममा हालसम्म १०९ नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी भएका छन् । यस अवधिमा तिलोत्तमा नगरपालिकाले काठमाडौं बाहिर पहिलो पटक ऐतिहासिक तिलोत्तमा लगानी सम्मेलन गर्न सफल भएको छ । लगानी सम्मेलनमा १६ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएकोमा विभिन्न परियोजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका छन् ।

 

शिक्षामा उल्लेख्य सुधार, बालमैत्री नगरपालिका
जनप्रतिनिधि आइसकेपछि तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन अघि बढाइएका कार्यक्रमबाट आशालाग्दो नतिजा आउन थालेको छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि हुँदा विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।सुरुका दिनहरुमा नगरपालिकाको आर्थिक स्रोतबाट बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रुपैंयाँ बराबरको दिवा खाजाको व्यवस्था गरिएकोमा हाल दिवा खाजा संघीय सरकारको कार्यक्रममा समावेश भएको छ । तिलोत्तमाले सुरु गरेको कार्यक्रम संघीय सरकारको कार्यक्रममा पर्नुले यहाँका जनप्रतिनिधहरुले असल अभ्यास गरेको तथ्यलाई पुष्टि गरेको छ ।

यहाँका सबै सामुदायिक विद्यालयहरुमा एकै प्रकारको रंगरोगन गरी चिटिक्क पारिएको छ । विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ भने दरबन्दी कम रहेका विद्यालयमा अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरिएको छ ।नगर प्रमुख बासुदेव घिमिरेले आफूले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने रकमबाट नगर प्रमुख छात्रवृत्ति कोष स्थापना गरी हरेक वर्ष सबै सामुदायिक विद्यालयका १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आउनु भएको छ । सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएकोमा हाल यो कार्यक्रम संघीय सरकारको कार्यक्रममा परेको छ ।नगरपालिकाबाट अनुदान प्राप्त गरेसँगै यहाँका सामुदायिक विद्यालयले बस सञ्चालन गरेका छन् । सबै विद्यालयमा स्तरीय बाल विकास कक्षा व्यवस्थापन गरिएको छ । सामुदायिक विद्यालयमा विद्यालय–नर्स कार्यक्रम सञ्चालन गरिएपछि विद्यार्थीको प्राथमिक उपचार विद्यालयमैं हुने गरेको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयको भवन, शौचालय, फूलबारी, खानेपानी, सूचना प्रविधि, कम्पाउण्डलगायत पूर्वाधार निर्माण, शिक्षकहरुलाई तालिम, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणलगायतका क्षेत्रमा ठूलो रकम लगानी गरिसकेको छ ।वर्षौंदेखि न्यून विद्यार्थी भएका विद्यालयहरु मर्ज गर्दै लामो समयदेखि हुन नसकेको शिक्षक दरबन्दी मिलान गरिएको छ । वडा नं. १४ मा सिटी कलेज सञ्चालनको लागि भवन निर्माण भएको छ भने सम्बन्धनको लागि सिटीइभिटीसँग पहल भैरहेको छ । नगरलाई जिल्लाकैं पहिलो बालमैत्री नगर घोषणा गरिएको छ ।शैक्षिक सुधारका कार्यक्रमहरुले तिलोत्तमाको शिक्षा प्रणालीमा व्यापक सुधार आएको छ । सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने जनप्रनिधिहिरुको सपना साकार हुँदै गएको छ ।

सबै वडामा स्वास्थ्य संस्था, दुई नगर अस्पताल निर्माणको क्रममा, मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता पालिका
सबै नगरबासीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई स्थापित गराउन हरेक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना भएका छन् । कोरोना महामारी नियन्त्रणमा निकैं प्रभावकारी काम गरेर प्रशंसा बटुलेको यस नगरपालिकाले लकडाउनको बेला नगरबासीलाई राहत वितरण, क्वारेन्टाइन, आइसोलेशन सेन्टर व्यवस्थापन गर्दै हाल वडा नं. ९ केवलानीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ । १२ वर्षमाथिका सबै नगरबासीलाई कोरोना विरुद्धको खोप लगाउने तिलोत्तमा मुलुककैं पहिलो स्थानी तह बनेको छ ।
सेमराबजार स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी र बीपी ग्राममा कम्तिमा १५ बेडको अस्पताल निर्माण गर्ने योजनाअनुरुप आनन्दवन र बीपी ग्राममा भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सेमराबजार स्वास्थ्य चौकीलाई जग्गाको स्वामित्व प्राप्त भएको छ ।

 

नगरबासीले रक्तसञ्चार सेवा केन्द्रबाट रगत लिएमा वार्षिक २५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ । नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता, गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्यालसियम चक्कीको साथैं गर्भवती र सुनौलो हजार दिनका बालबालिकाको पोषणमा सुधार ल्याउन सुत्केरीसँग उप–मेयर कार्यक्रम सञ्चालन गरिएको छ ।आन्तरिक स्रोतमा चिकित्सक नियुक्त गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको छ भने सबै स्वास्थ्य संस्थामा सुविधासम्पन्न वातानुकुलित खोप केन्द्र निर्माण कार्य अघि बढेको छ । ७० वर्षमाथिका नगरबासीलाई घर–घरमैं पुगी स्वास्थ्य परीक्षण गर्नुको साथैं औषधि वितरण गरिएको छ ।

किसानलाई अनुदानैं अनुदान, जग्गा बाँझो राख्न नपाइने नीति
कृषिको लागत घटाइ कृषि कार्यमा नयाँ पुस्तालाई समेत आकर्षित गर्ने नीतिअनुरुप नगरपालिकाले कृषि उत्पादकत्व वृद्धिका लागि बिउबिजन, कृषि औजार, फलफूलका विरुवामा अनुदानदिँदै आएको छ । अनुदानलाई साना किसानको पहुँचमा पुर्याउन दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुधमा रु १ रुपैंयाँ अनुदान दिने गरिएको छ ।
पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको छ । गौशालामा थप पूर्वाधार निर्माण गर्दै सामुदायिक वनहरुलाई तारबार गर्न आर्थिक सहयोग गरिएपछि छाडा चौपायाको व्यवस्थापन हुँदा किसानलाई ठूलो राहत मिलेको छ । पशु सेवा केन्द्रको विस्तार गरिनुको साथैं नगरपालिकाले आन्तरिक स्रोतमा कृषि तथा पशु प्राविधिकहरु नियुक्त गरेर किसानलाई सेवा दिँदै आएको छ ।

प्राकृतिक विपत्तिबाट कृषि उपज तथा पशुपालन व्यवसायमा हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न बनाइएको “बाली संरक्षण कोष” ले किसानलाई राहत मिलेको छ । कृषियोग्य जमिनको खण्डिकरण रोक्न भू–उपयोग योजना कार्यान्वयन गर्दै भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरी करार खेती, सहकारी खेती र सामूहिक खेती गर्न नगरबासीलाई उत्प्रेरित गरिएको छ । खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नगरपालिकाको नीतिले वर्षौंदेखि बाँझो रहेका जग्गामा खेती गर्ने संस्कारको विकास भएको छ ।

भौतिक पूर्वाधारमा उल्लेख्य फड्को
जनप्रतिनिधि आउँदा नगरपालिकाको आफ्नो भवन थिएन । भाडाको घरमा नगरपालिका चलेको थियो । प्रशासनिक भवन कहाँ बनाउने भन्ने अन्यौल थियो । तर, नगरपालिकाको नेतृत्वले सर्वसम्मत निर्णय गरी वडा नं. ६ को कुञ्जलापुरमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । वन वाटिकामा नगरपालिकालाई नियमित आम्दानी हुने गरी होटल समेत सञ्चालन गर्नेगरी बहुउद्देश्यीय भ्यूटावर निर्माण गरिएको छ । केवलानीमा निर्माण गरिएको अतिथि गृह तथा सभाहलमा हाल अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ साविकका गाविस कार्यालय रहेका वडा कार्यालयहरु व्यवस्थित बनाइएको छ भने अन्य सबै वडामा सेवाग्राहीमैत्री नयाँ वडा कार्यालय भवन बनाइएको छ । कुञ्ज पार्क, तिलोत्तमा पार्क, हरियाली पार्क, बेबरी पार्क, वनवाटिका, बाउन्नकोटी लगायतका थुप्रैं साना–ठूला पार्कहरुलाई व्यवस्थित बनाइएको छ ।

जनप्रतिनिधि आएपछि नगरमा खानेपानी तथा सिंचाई बोरिङ, घाट तथा किरियापुत्री घर, विद्युत पोल, ह्युम पाइप, ढल निकास तथा नाली निर्माण, सामुदायिक भवन, खेलमैदान, कवर्डहल, सार्वजनिक शौचालयहरु नयाँ निर्माण तथा पुराना संरचनाहरु स्तरोन्नती भएका छन् । यो अवधिमा ५ सय किलोमिटर नयाँ तथा पुरानो सडक कालोपत्रे गरिएको छ । सोहीअनुपातमा सडक ग्राभेल गरिएको छ । खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउने काम पनि भएको छ । तिलोत्तमा रिङ्ग रोड निर्माण तथा स्तरोउन्नतीको कार्य अघि बढेको छ ।व्यवसायिक सीप विकास तालीम सञ्चालन गरिएपछि कयौं नगरबासी साना तथा मझौला व्यवसाय सुरु गरी आत्मनिर्भरको बाटोमा अघि बढ्नुभएको छ । काम गर्ने चाहन भएकाहरुलाई विनाधितो ऋण दिइएको छ । साना उद्योग स्थापनालाई प्रवद्र्धन गर्न वडा नं. १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण अघि बढेको छ ।

मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख पालिका
नगरपालिकाले प्राथमिकता दिएको “ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा” अभियानले नगरलाई सफा बनाएको छ । जनप्रतिनिधि आएसँगै यहाँ सुरु भएको सरसफाई अभियानले तिलोत्तमालाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाई अभियानमा नगर प्रमुख, उपप्रमुख आफैं सहभागी हुँदै आउनु भएको छ भने टोल विकास संस्थामार्फत् समुदायमा आधारित नियमित सरसफाई हुँदै आएको छ । घर, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, सार्वजनिक निकायबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्ने संयन्त्रको विकास गरिएको छ ।

योगिकुटी–कोटिहवा सिक्सलेन सडक र बुद्ध सर्किटमा समुदायसँग मिलेर हरियाली प्रवद्र्धन गरिएसँगै नगरको मुहार नैं फेरिएको छ । वास सहकारीसँगको सहकार्यमा सुखौरा खोलाको उकास क्षेत्रमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रममामार्फत् बालबालिकालाई माई पकेट : माई फष्ट डष्टबिनमा अभ्यस्त बनाउने अभियान चलाइएको छ । यो अवधारणाले आजका बालबालिका भोली ठूला हुँदा फोहोर जथाभावी नफाली तोकिएको ठाउँमा मात्र फाल्दा नगर अझैं सफा हुनेछ ।
नगरमा उद्यमशीलताको विकासका लागि विभिन्न किसिमका सीपमुलक तालीम सञ्चालन गरिएको छ । कोरोना महामारीको क्रममा नगरपालिका, युएनडीपी र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारीसँगको सहकार्यमा आलु बिऊ वृद्धि कार्यक्रम सञ्चालन गरी नगरलाई आलुमा आत्मनिर्भर बनाइएको छ ।

नगर प्रमुख दायित्व युवा उद्यमी परिचालन कोष स्थापना गरी युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम संचालन गरिएको छ । नगरपालिकाले युवाहरुको साहस, सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलताको उच्च मूल्याङ्कन गदै शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पूँजीको रुपमा लिएको छ ।
नगरमा पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामहरु भैरहेका छन् । हरेक वडामा एउटा पार्क बनाउने गरी काम भैरहेको छ । सिक्सलेन सडकमा बुद्धमुर्ति राखिएको छ, वडा नं. १३ को सेमरीमा सेमरीमा होमस्टे सञ्चालनमा आएको छ ।

डिजिटलमैत्री नगरपालिका
नगरपालिकामा सूचना, सञ्चार र प्रविधिमा उल्लेख्य काम भएका छन् । यसबाट नगरबासीले घरबाटैं कर भुक्तानीदेखि सिफारिस लिनेसम्मका काम गर्न मिल्छ । नगरले विपद् पूर्वतयारी, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण लगायतका विषयहरुलाई समेटी विपद् प्रतिकार्य योजना निर्माण गरेको छ । विपद् पीडितलाई तत्काल राहत दिन “नगर प्रमुख विपद् व्यवस्थापन कोष” स्थापना गरिएको छ । आगलागीका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न दमकल सेवा सञ्चालनमा ल्याइएको छ ।नगरपालिकाले एकल महिलाको नाममा संचालित व्यवसाय कर र सम्पत्ती करमा १५ प्रतिशत छुट उपलब्ध गराइएको छ । लैङ्गिकमैत्री नगरपालिका घोषणा कार्ययोजना अनुसार कार्यक्रम संचालन गरिएको छ । मधेसी, पिछडा वर्ग, अल्पसंख्यक, मुस्लिम समुदाय, दलित, आदिबासी जनजाती, तेस्रोलिङ्गीलगायत विकासको मूलप्रवाहमा आउन नसकेका वर्ग समुदाय र क्षेत्रलाई नगरको विकासको मूल प्रवाहमा ल्याउन सामाजिक सशक्तिकरणका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

न्यायिक समितिले प्रभावकारी कार्यसम्पादन गर्दा निमुखा, विपन्न, तल्लो तहका नगरबासीको न्यायमा पहुँच स्थापित भएको छ । सानातिना वादविवाद, झै–झगडा मेलमिलापकर्ताहरुले मिलाउने अभ्यास सुरु गरिएको छ ।नगरपालिका घोषणा हुनुपूर्वका पुराना घरहरु नक्सा प्रक्रियामा नआइरहेको सन्दर्भमा जनप्रतिनिधिहरुको आगमनपछि वडा वडामा शिविर चलाएर पुराना घरहरुलाई नक्सा प्रक्रियामा ल्याइएको छ । घरनक्सा पासलाई अनलाइन सिष्टममा लगिएपछि नगरबासीलाई सेवा लिन सहज भएको छ ।
नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको सार्वजनिक यातायातका साधनहरु अटो, ईरिक्सा, रिक्साको व्यवस्थापनका लागि कार्यविधि निर्माण भएको छ । वडा नं. १४ मा प्रादेशिक स्तरको बस टर्मिनल बनाउन डिपिआर निर्माण भएको छ । सोही वडामा अटोजोनको प्रस्ताव गरिएको छ ।नगर खेलकुद विकास समितिले खेलकुदका कामहरुलाई प्रभावकारी रुपमा अघि बढाउँदा नयाँ–नयाँ खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । सबै वडाका खेलकुद मैदानहरु स्तरीय बन्दै गएका छन् ।

नीतिगत निर्णय र अभियानले ल्याएको परिवर्तन
राष्ट्रिय स्तरमा तिलोत्तमालाई परिचित गराउन नीतिगत निर्णयहरुले समेत काम गरेका छन् । जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई गरिएको आह्वानले हरियाली प्रवद्र्धनमा टेवा पुगेको छ । सार्वजनिक महत्वका कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध गरिएसँगै नगरमा पुष्पखेती फष्टाउँदै गएको छ । सार्वजनिक महत्वका कार्यक्रमहरु तोकिएकैं समयमा सुरु गर्नुपर्ने निर्देशिकाले नगरबासीमा समयको महत्वलाई बुझाएको छ ।नगरका मुख्य सडकहरुको राइट अफ वे निर्धारण गरिएसँगै सडक फराकिला हुने आधार निर्माण भएको छ । नगरले गरेका निर्णय कार्यान्वयन गर्न नगर प्रहरी परिचालन गरिएको छ ।नगरको बस्तुगत विवरण संकलन गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण गर्न जग्गा नापचाँज, तारबार समेतका काम भएका छन् । नगरको स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाइएको छ भने एकीकृत बस्ती विकासको लागि ल्याण्ड पुलिङको अवधारणा ल्याइएको छ । उपभोक्ता अधिकार सुनिश्चितताको लागि निरन्तर बजार अनुगमन गरिएको छ ।

नदीजन्य पैदावारको अवैध उत्खननमा रोक्न नियमित अनुगमन गरिँदा यसबाट आन्तरिक आयमा उल्लेख्य वृद्धि भएको छ । प्रमुख प्रशासनिक कार्यालय परिसरमैं बैंकको काउन्टर स्थापना गरी नगरपालिका कार्यालयलाई क्यासलेस बनाइएको छ ।नगरको गान र लोगो निर्माण गरी नगरबासीलाई आफ्नो नगरप्रतिको एकताबद्ध गराइएको छ । यो नगरले आफ्नैं स्रोतमा प्रदेशकैं पहिलो पटक ट्राफिक लाइट व्यवस्थापन समेत गरेको छ ।सामाजिक परिचालनको माध्यमबाट नगरको सर्वाङ्गीर्ण विकासमा टेवा पुर्याउन सबै वडाहरुमा गरी कुल १८९ वटा टोल विकास संस्था गठन गरिएको छ । टोल विकास संस्थामार्फत् विकास निर्माण, जनसहभागिता, सरसफाई, हरियाली प्रवद्र्धनलगायत नगरका हरेक अभियानहरुमा नगरबासी परिचालन हुनेगरी संयन्त्र निर्माण गरिएको छ ।रुपन्देहीकैं मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई समृद्ध र मुलुकमैं नमूना बनाउन जनप्रतिनिधि, कर्मचारीहरु दत्तचित्त भएर लाग्नु भएको छ । यसमासम्पूर्ण राजनीतिक दल, टोल विकास संस्था, संघ–संस्था, निजी तथा सहकारी क्षेत्र, क्लव, विद्यालय, आमा समूह, सञ्चारकर्मीलगायत सबै नगरबासीको सद्भाव, सहभागिता र सहयोग छ ।