सोलु डायरी – १ : पत्तालेबाट सगरमाथा नदेखिएको दिन……..

प्रकाशित मिति:

– प्रेम पुन्थोकी

त्तालेमा पुगेर सगरमाथा हेर्नुपर्छ है, नौ महिना अगाडि पुग्दा हुस्सुका कारण देख्न नसकिएको सगरमाथा हेर्न आतुर हाम्रो टिमले ओखलढुंगाबाट सोलुखुम्बुको फाप्लु उक्लदै योजना बनाएको थियो । सोंच्दा टाढा जस्तो लाग्ने तर ओखलढुंगा बजारबाट एक देखी डेढ घण्टामा सहजै पुगिने यो ठाउँ घुम्ने रहर एकै पटकमा सायदै पुरा होला । जति माथि चढ्दै गयो उती चिसो बढ्दै मौसम, त्यसमा पनि सगरमाथा लगायतका हिमाललाई नजिकैबाट हेर्ने रहर पत्तालेको मौसममा मात्र निर्भर छैन । किनकी हिमाल आसपासको मौसम यसको कारक बन्न सक्छ , जुन हामीलाई पनि थाहा थियो । मंसिर २८ को त्यो दिन पनि त्यस्तै भयो । सगरमाथालाई बादलले छेकिसकेछ ।
हामी भन्दा अगाडि नै पुगिसकेका साथीहरुले पत्तालेको मुना होटलमा लेकाली आलु उसिन्न लगाइसकेछन् । फाप्लु पुग्न आधै बाँकी रहेको बाटोमा समय प्रयाप्त थियो । मुना होटलकी मुना (सायद) ले आलु आगोमा बसाउँदा बसाउँदै सू चिया पनि बनाइसकिछन् । पानी, ध्यू , दुध, सातु (जौं, गहुँ, फापर लगायतको पिठो) र नुन मिसाएर उमालेर बनाइने सू चिया हातमा थमाउँदै मुनाले भनिन् ‘मामा थप्ने भए माग्नु है ’ । मामा ! अच्चम्म मलाई मात्रै हैन छोरा मान्छे जति सप्पैलाई माया भन्ने चलन पो रहेछ उन्कामा छोरी मान्छेले , खैर जे होस्् भान्जी नै सही मिठो चिया थप्दै मुनाले भनिन् ‘आलु पाक्दै गर्छ मामाहरु हाट गए हुन्छ नी ’ । नजिकै लाग्दै गरेको हाट देखाउँदै गर्दा आधाउदी साथीहरु उतै हान्निई सकेका रैछन् । मलाई भने सूचियाको रहर पुरा भएकै थिएन, थप्न लगाउँदै भनें ‘भाञ्जी फोटो खिचुँ ल ?’ के मान्थिन् , लाजले भुतुक्कै भएकी मुनाले इन्कार गरिन, मैले आग्रह गरिरहेँ , अन्तत सुचिया गिलासमा खनाउँदा खनाउँदै शिर उठाइन् । भारबाट एक बटुको सुकेका खुर्सानी झिकेर त्यसमा टिमुर थपेकी मुनाले आलुसँग खाने चटनी पिस्न लागिन् , म पनि साथीहरु भेट्न हाटमा हानिँए ।


पूर्वी जिल्लाहरुमा हाट बजार लाग्ने चलन सायद सबै तिर छ , क्यार । तराईका जिल्लामा अधिकांश ठाउँमा हाट लाग्ने भए पनि मध्ये तथा पश्चिम नेपालमा नियमित हाट कम लाग्छ । स्थानीय उत्पादन देखी तराईबाट समेत लिएका सामलहरु भरिने हाटमा आसपासमा स्थानीयहरुको जमघट हुँदो रहेछ । तरकारी, खाद्यान्न, कपडा, माछामासु , फलफूल लगायतका सामान त्यसका पनि थोरै परिमाणमा भए पनि बजारमा व्यापार गरेर बसेको देखियो । नौ महिना अघि पुगेर बसेको कर्टेज र आसपासको फोटो लियौं र फर्कियौं ।

केही नकिनेर घुमेरै मात्र फर्किदाँ मुनाले टिमूर राखेर बनाएको मिठो अचार र आलु तयार भैसकेछ । आधा साथीहरु बाहिरै थिए, आधा जसोले भित्र अगेनो घेरिसकेका थिए । अगेनो माथि भारमा झुण्डाएको मासु देखाउँदै साथीहरुले सोधे ‘के को मासु हो यो भाञ्जी ?’ सोधेको प्रश्न भुँइमा खस्न नपाउँदै मुनाले भनिन् ‘राँगाको मामा ’ । ‘हैन होला गोरुको जस्तो पो छ त ?’ मैले जिस्काउने बहानामा सोधें ‘कस्सम हैन मामा राँगो कै हो ’ उनले जवाफ फर्काउन नभ्याउँदै बल्दै गरेको आगोमा २—४ लहरा डढि सकेका थिए । साना साना टुक्रा पारेकी भाञ्जीले सिलौटोमा लगेर पिस्न पो लागिन् । ‘के गरेको भाञ्जी यस्तो ?’ सिलौटौमा लसलस पारेकी मुनाले थालमा थमाउँदै भनिन् ‘सिलौटोमा पिस्यो भने मिठो पो हुन्छ त ’ । केही ले नाक खुम्चाए पनि धेरैका हात थालमा परे एकै छिन्मा सुकुटी रित्तियो र आलु पनि ।

चिसो बढ्दै थियो । हामीलाई बेलैमा फाप्लु पुग्नु थियो । ‘आज हिमाल देखिएन’ भाञ्जीले भनिन् ‘फर्कदा सबेरै आउननु नी हिमाल देखिन्छ ’ । ‘हुन्छ भाञ्जी हुन्छ , बरु तिम्रो नम्बर देउन फोन गरेरै आम्ला’ मैले माग्दा नमाग्दै उनले भनिन् ‘०३८—६९०२४४’ मैले टिपें र सेभ गर्दै बल्ल सोधें ‘मुना होटल’ मुना तिम्रै नाम त होला हैन भाञ्जी ?’ उनले भनिन् ‘हैन मामा मेरो नाम त अञ्जना पो , मुना त दिदीको नाम हो ’ मेरो भ्रम चिरियो , साथीहरु मुख छोपेर हास्दै बाहिरिए, भन्दै थिए ‘मोवाइल नम्बर पाइन्छ कि भनेर नम्बर मागेको होला, ल्याण्ड लाइनको नम्बर दिएर हिस्sssssssसै पारिन् ’ ।