बुुटवलमै प्रदेश राजधानी कायम गर्नका लागि आन्दोलनमा उत्रन अपिल

प्रकाशित मिति:

बुटवल, १४ मंसिर । वरिष्ठ पत्रकार, अधिवक्ता डा.बालकृष्ण चापागाईंले आफ्नो सामाजिक सञ्जालमार्फत परिवर्तित सन्दर्भ अनुसार लुम्बिनी प्रदेशकोे राजधानी बुटवलमा कायम राख्नु पर्ने धारणा व्यक्त गरेका छन् । संघ र प्रदेशको चुनावी परिणाम आइसकेको अवस्थामा लुम्बिनी प्रदेशको राजधानीको विषय चुनावमा निकै बहसको रुपमा आएको र आरोप प्रत्यारोपका खेलहरू भएको चर्चा गर्दै सबै प्रकारका बहसलाई संष्लेषण र चुनावी परिणामलाई हेर्दा मतदाताले पनि प्रदेश राजधानी बुटवल हुँदा नै हरेक कोणबाट सान्दर्भिक हुने अभिमत जाहेर गरेको उल्लेख गरेका छन् ।

उनले बुटवलमै लुम्बिनी प्रदेशको राजधानी कायम राख्न विजयी सांसदहरूलाई पहल गर्न अनुरोध गरेका छन् । साथै उनले प्रदेश मन्त्रालय र यस मातहतका कार्यलयहरू बुटवलमै रहेको सन्दर्भमा यी कार्यालयहरूलाई सार्न रोक्ने र प्रदेश सासंदहरूलाई बुटवलमै राजधानी राख्नका लागि दवाव दिन जनस्तरबाट आन्दोलनमा उत्रन सबैमा अनुरोध समेत गरेका छन् । उनले भनेका छन् ः साँच्चिकै प्रयास ,पहल र सशक्त आन्दोलन गर्ने हो भने बुटवल राजधानी कायम हुन सक्छ । आन्दोलन सुरु गर्न अपिल गर्दछु । यो आन्दोलनमा म जीवन र मरणको निर्णायक संघर्षमा उत्रिन र सबैले विश्वास र भरोशा गर्नुभएमा आन्दोलनको नेतृत्व गर्न पनि म तयार छु । ’