-दिनेश खड्का
बाले कलिलो कान ननिमोठेको भए,
आमाले आगनमा एक्लै नछाडेको भए,
आज अरुको आलोचना सुन्ने तागत
कहाँबाट आउथ्यो होला र मलाई ?
आज भिडमा एक्लै उभिने आँट
कहाँबाट पो जुट्थ्यो होला र मलाई ?
खोलाको खोल्सामा खसेको भएर होला
डुबुल्की मार्दा डुबेको भएर पनि होला
जीवनमा कैंयौ पटक खस्दा पनि आत्तिइनँ म
समस्याका सागरमा पनि आत्तिइनँ म,
झनै बलियो भएको छु म आज फेरि
खाडलमा खस्दा पनि र खसाइँदा पनि
डुबानमा डुब्दा पनि र डुबाइँदा पनि ।
भुइँको काफल पनि मिठो लाग्थ्यो
चराले चाखेको जुठाे खल्दुक पनि
आधा रोटीमा पनि त अघाइन्थ्यो
भात र चिया पनि त सँगै चबाइन्थ्यो
मेरो रोजाइका पाटा नै कहाँ हुन्थे र,
मेरो सोचाइका बाटा नै कहाँ हुन्थे र,
त्यसैले आज सहरको असहजतामा पनि
सब थोक सहज र सरल लाग्छ मलाई
केही र कोही हुँदा पनि र नहुँदा पनि
केही र कोही पाउँदा पनि र गुमाउँदा पनि ।
मोजाको बल नै विश्व थियो बालापनमा
स्वार्थभन्दा धेरै परका सङ्गीहरु थिए साथमा
न त जात चाहिन्थ्यो खेल्न न त धर्म नै
सबैजना सँगै चोर बन्दा पनि चिन्ता थिएन
सबै मस्त मुर्गा बन्दा पनि आत्मग्लानि थिएन
आज स्वार्थले साइनो लाउनेहरु उस्तै छन्
जता हे¥यो चारैतिर दुषित मन दुरुस्तै छन् ।
कपडा फेरे जस्तो सम्बन्ध मिल्दैन फेर्न
स्वास छोडे जस्तो साथ मिल्दैन छोड्न ।
अल्झिरहनु पर्छ कपालको रौं जस्तैगरी
आफूलाई मन परे पनि मन झरे पनि ।
आजकल तिमीलाई जस्तै मलाई पनि–
न त आगोले झैँ अत्याउँछ आलोचनाले
न त महले झै मत्याउँछ मलाई प्रशंसाले
मन स्थिर छ, मुटु मक्किएको भए तापनि
साहस जीवित छ, स्वार्थी सहरको संसारमा
अनि,दौडेर सानैमा बरालिएको गाउँ पुग्छ मन
तर टक्क अडिन्छन् अनायासै पाइलाहरु
फर्केर फेरि आउँछु त्यही लत्रिएको लयमा
किनकि म समयले बाँधिएको छु उसैगरी
तैपनि गुनासो छैन समयसँग कसैगरी
किनकि करार गरेको छु मात्र केही वर्षको
किनकि सम्झौता छ धेरै दर्द–कम हर्षको ।










