-दिनेश खड्का, रूपन्देही
अग्लो र सग्लो सपनाको उदय भयो
सगरलाई छुँदै सात सागर तर्ने
सबैमाझ सानकाे जिन्दगी बाँच्ने,
र सबैमाझ सानको जिन्दगी मर्ने ।
हजारौँ सपना साकार पार्नका लागि
ठूलो सपना पूरा भएको छ आज मेरो
किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ
मेरो देश अनुत्तीर्ण भएर के भो र !
मकैझैँ मक्कि सकिएकी मेरी माता
छानोझैँ खरको खल्की सकेका मेरा पिता
एक्लै बस्न सक्छन् गाउँको झुपडीमा
एक्लिएको चौताराको बरजस्तै
अनि एक्लिएको पहेँलो पीपलजस्तै ।
मलाई मेरो मपाईँत्व जनाउनका लागि
मलाई मेरो प्रतिष्ठा बनाउनको लागि
न त बा र आमाको मायाले रोक्छ
न त मातृभूमिको माटोले नै छेक्छ
किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ
मेरो देश अनुत्तीर्ण भएर के भो र !
म विदेश जाने खबर सुनेको दिनदेखि
विश्वविद्यालयका विद्वान विच्किए रे
भनेछन् सल्बलाउदै सहकर्मीलाई सुटुक्क–
विद्यार्थी नै नेपाल नबसे कसलाई पढाउने ?
विद्यार्थी नै नभए दिनचर्या कसरी कटाउने?
कन्सलटेन्सीकी दिदी भने खुब खुसी भइछिन्
भनिन–ल बधाई छ अब बलियो बाटो खुल्यो,
समुन्द्रको तटमा उभिएर तस्विर लिने
मस्त मातिएर चट्ट चुस्की लिने र पिने
किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ
मेरो देश अनुत्तीर्ण भएर के भो र !
मैले देश छोड्दा देश नै दुःखी कहाँ छ र ?
विश्वविद्यालयभन्दा विमानस्थल जा भन्छ
विद्याले होइन विप्रेषणले मात्र पो देश बन्छ
माटो छोडेर बाटो तताउने बनाएपछि
मातृभूमिले नै मौन स्विकृति जनाएपछि
देश छोड्दैछु मैले अरुले छोडेजस्तै
थाहा छैन देश मात्रै छोड्छु या श्वास पनि
माटो र माया मात्रै छोड्छु या विश्वास पनि
थाहा छैन जहाजमा गएर म कसरी फर्किन्छु
बाकसमा सम्पति हुन्छ या मेरो शरीर मात्र ।
अन्ततः साथीसंगी सबैले सफर गरेपछि
म नि जन्मभूमि छाड्दैछु दबाबमा परेपछि
किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ
मेरो देश अनुत्तीर्ण भएर के भो र !










