काठमाडौं, असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था आउने चेतावनी दिएका छन्।मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन नगरे देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भएको बताए।
‘शिक्षा क्षेत्रमा सुधार गर्नपर्ने तर कोही पनि नबोलेको कुरा चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भन्ने हो । त्यसले गर्दा अहिले देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भयो,’ उनले भने, ‘अबको ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने दिन आउँछ।’हामीले गरेको पहलले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने कुरामा सरकार अगाडि बढिरहेको उनको भनाइ छ। उनले नेपाललाई मेडिकल हब बनाउनु पर्ने र त्यसको लागि अगाडि बढ्नु पर्ने बताए।












