भैरहवामा मंसिर ६ देखि छैठौं लुम्बिनी प्रादेशिक महोत्सव विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्नेमा जोड
बुटवल, ५ मंसिर । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्घन नारासहित भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) को आयोजनामा भैरहवाको अंचलपुरमा मंसिर ६ देखि १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको बताए । महोत्सवको आकर्षणको रुपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरुपमा निर्माण गरिएको छ । अरबौं रुपियाँ लगानीमा विमानस्थल तयार भएपनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको, होटल ब्यवसायहरु धरासायी भएको बेला सरकारलाई दबाब दिने गरी विमानको आकृतिमा प्रवेश गेट बनाएर दबाब दिन खोजिएको उनले बताए । भारतबाट कालिगढ ल्याएर करिब पाँच लाख रुपियाँ खर्च गरेर विमानस्थलको स्वरुप निर्माण गरिएको उनले बताए ।
कृषि, उद्योगका नयाँनयाँ प्रविधिको प्रचार र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, सिमाक्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्य समेत मेलाले लिएको छ । मेला उदघाटनअघि बुधबार विहान जनचेतनामुलक ¥याली निकालिने छ । यसैगरी अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराईने उनले बताए । कार्यक्रममा संगठनका पुर्व अध्यक्ष तथा साँस्कृतिक संयोजक नारायण भण्डारीले मेलामहोत्सवलाई ठेक्का दिने प्रवृत्ति रोक्न जरुरी रहेको बताए । सरकारबाट नै महोत्सव ब्यवस्थापनमा लाग्नुपर्ने उनले बताए । देशभरका धेरै स्थलहरुमा गरिने महोत्सवलाई ब्यवस्थित गर्न लाग्नुपर्ने उनले सुझाव दिए । लुम्बिनी प्रदेशकै पहिचान हुने गरी महोत्सव गर्न लागेको भएपनि प्रदेश सरकारबाट कुनै सहयोग नभएको उनले गुनासो गरे । उद्योग, कृषि र पर्यटनको विकास गर्न स्थानीय स्तरबाट गरिएको सबैखाले कामलाई सरकारबाट कुनै सहयोग नहुने गरेको भण्डारीले बताए ।
विदेशमा यस्ता महोत्सवमा सहभागीहरुलाई सरकारबाट नै भत्ताको ब्यवस्था गरिने भएपनि नेपालमा भने कुनै सहयोग नआउने गरेको उनले दुखेसो गरे । महोत्सवमा ११ बजेसम्म निःशुल्क प्रवेशको ब्यवस्था भएको र त्यसपछि भने टिकट लाग्ने व्यवस्था मिलाइएको छ । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै भारतीय चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, नेपालका उमेश पटेल लगायत कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रममा संगठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपियाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बताइन् । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरु सहभागी हुने उनले बताइन् । कार्यक्रमको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट हुने छ ।












