सबलपोष्ट- भैरहवा । चेम्बर अफ कमर्स रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवमा टिकट काट्ने पैसा नभएका कमजोर आर्थिक अवस्थाका सर्वसाधारणलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तर निःशुल्क प्रवेशका लागि बिहान ९ बजेदेखि ११ बजेभित्र मेला भित्र प्रवेश गरिसक्नुपर्ने नियम बनाइएको मेलाका संयोजक एवं संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
मेलाका सहसंयोजक एवं सांस्कृतिक कार्यक्रम संयोजक नारायणप्रसाद भण्डारीले पैसा नभएर मेला हेर्नबाट कोही बन्चित नहोउन् भनेर निशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको मेलामा हरेक दिन स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहेको भण्डारीले बताए । ३ सय स्टल रहने महोत्सवमा झण्डै ३ लाख दर्शकले अवलोकन गर्ने र २५ देखि ३० करोड मूल्य बराबरको कारोबार हुने आयोजकको भनाई छ ।












