काठमाडौं, मंसिर – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनमा परेको पुनरावेदन निवेदनमाथिको सुनुवाई बिहीबार सकिएको छ। पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डे लगायत २० जनाको निवेदनमा १० दिनदेखि उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो। न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेकाले शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर गत जेठ १० मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो।
किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता भएको थियो। मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी बिगो र सोही बमोजिम जरिवाना समेत माग गरिएको थियो।उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले गत असार १ गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।अदालतको आदेशमा २० जना पुर्पक्षका लागि थुनामा छन्। उनीहरुले आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए। पुनरावेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले थुनामै राख्ने नै रहने, धरौटी वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ।












