गोपीकृष्ण रेग्मी-चापाकोट नगरपालिका, स्याङ्जाले अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसको अवसर पारी ६० वर्ष उमेर पुरा गरेका १४ जना महिला स्वास्थ्य स्वयंसेविकलाई स-सम्मान विदाइ गरेको छ ।आज नगरपालिकामा दोसल्ला, सम्मान पत्र र नगद रु २५०००/- सहित सम्मानजनक बिदाई तथा १४ जना नयाँ स्वयंसेविकालाई स्वागत कार्यक्रम सप्पन्न गरेको हो ।
नगर प्रमुख देव बहादुर खाण (इस्वर)को अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै समाजमा पुर्याएको योगदान अतुलनीय रहेको नगर प्रमुख देव बहादुर खाण (इस्वर)ले बताउनु भयो ।
स्वास्थ्य स्वयंसेविकाहरुले विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन पुर्याएको योगदानलाइ कदर गर्दै नगरपालिकाले बिदाइ स्वरुप नगद २५ हजार रुपैया सहित दोसल्लाले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत धुर्व खनालले बताउनुभयो ।आफुहरुलाइ नगरपालिकाले सम्मान गरेकोमा स्वास्थ्य स्वयमसेविका टक कुमारी खाणले खुशी व्यक्त गर्नु भयो ।स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा स्वयंसेविकाको भुमिकामा रहि महत्वपूर्ण जिम्मेवारी बाट अवकाश भए पनि सामाजिक सेवामा योगदान गर्न आग्रह गर्नु भएको थियो।












