काठमाडौं- एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात संकलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ। अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए। उनका अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मंङ्सिर १५ गते पत्राचार गरेकोमा मंसिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ।
शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात संकलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।समितिमा एनसेलको शेयर खरिदबिक्री शंकास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए।बैठकमा रास्वपा सांसद डा स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए।एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ०, एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस्,’ उनले भने, ‘लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ।’
यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेले बताए।यस्तै, सांसदहरू दीपक खड्का, विराजभक्त श्रेष्ठ, गंगा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे।उनीहरुले यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लङ्घन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने बताए।












