काठमाडौं, पुस – नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पार्दै सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ। एनसेलको सेयर खरिद बिक्रीका विषयमा प्रश्न उठिरहेका बेला प्राधिकरणले लेखा समितिलाई जानकारी गराएको हो। पत्रमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ ९ट० अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको जनाइएको छ।
मलेसियन टेलिकम कम्पनी आजियाटा समूहले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको जानकारी पनि लेखा समितिलाई गराइएको छ। तर आधिकारिक कागजात प्राप्त नभएको समेत पत्रमा उल्लेख छ। ‘यस कारोबारको वास्तविक सेयर खरिद मूल्यको जानकारी सेयर खरिद सम्झौताबाट स्पष्ट हुन सक्ने भएकाले सो को प्राप्ती पश्चात यकिन हुन सक्ने छ,’ प्राधिकरणको पत्रमा उल्लेख छ।
यस्तै, सेयर खरिद सम्झौतामा उल्लेखित रकम सन्देहात्मक देखिएमा कम्पनीको डीडीए गरी यथार्थ जानकारी लिइने समेत प्राधिकरणले प्रश्ट गरेको छ। बिक्रीकर्ता दोहोरो कर हो वा होइन यकिन गर्ने निकाय आन्तरिक राजस्व विभाग रहेको समेत प्राधिकरणले जनाएको छ। पूँजीगत लाभकरका विषय समेत राजस्व विभागले हेर्ने प्राधिकरणको भनाई छ। प्राधिकरणले पठाएको पत्रमा नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ ९क० बमोजिम समेत आफ्ना सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने पत्रमा भनिएको छ। पत्रमा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत बताएको छ।












