बर्दघाटमा सहिदको शालिक अनावरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने

पौष १९ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १४ बुद्धिबस्तीमा सम्मर स्मृति प्रतिष्ठानले शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक अनावरण गरिएको छ ।


विहीवार सलिमको २० औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने (दीपक)ले शालिक अनावरण गर्नु भएको छ ।  बर्दघाट–१४ स्थित शहिदस्मृति सामुदायिक अस्पताल विकास केन्द्रको प्रांगणमा आयोजित एक समारोहबीच शालिक अनावरण गरिएको हो ।


कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सहकमाण्डर समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने (दीपक)ले देशमा ब्यवस्था अझै नबदलिएको बताउनु भयो  । उहाले देशमा राजनीतिको अधिरचना बदलिएको तर ब्यवस्था भने दलाल पुजीवादी रहेको कारण अवस्था नबदलिएको बताउदै  जनगणतन्त्र हुदै बैज्ञानिक समाजवादका लागि संर्घषको आवश्यकता रहेको औल्यउनु भयो । कार्यक्रममा नेकपा( माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा संबिद्यानसभा सदस्य सीता वौडेलले शहिद सलीमसंगको सहकार्यको चर्चा गर्दै शहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो । कार्यक्रममा नेसपाका नेता तथा संबिद्यान सभा सदस्य चिनक कुर्मीले माओवादीहरु तिरर वितर भएर शहिदका सपना पूरा गर्न नसकिने बताउनु भयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक लम्सालले संसदीय ब्यवस्थाको अन्त्य नगरे सम्म जनताले मुक्ति नपाउने बताउनु भयो ।


पोलिटब्युरो सदस्य किशन शर्मा गैरे, केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद चापागाईले माओवादी आन्दोलन क्षतबिक्षत भएकोले सबै एक ठाँउमा आउनुपर्ने विचार राखे । नेकपाका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज बसन्त श्रेष्ठले संसदीय ब्यवस्थाको खारेजीका लागि सबै घटकहरुले आन्दोलन थाल्नुपर्ने औल्याउनु भयो  ।


कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले शहिदहरुलाई सम्झने गरेर कार्यक्रम ल्याएको बताउदै शहिदहरु राष्ट्रकै गहनाका रुपमा रहेको बताउनु भयो ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य देबेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारी, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज पोखरेललगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रममा शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, चिसापानी अस्पतालका अध्यक्ष ईन्द्र प्रसाद सापकोटा, बाल्मिकी माविकी प्रधानाध्यापक रामकुमारी पाध्या, शहिद परिवारको तर्फबाट खीमा रिजाल लगायतले शुभकामना मन्तब्य राख्दै शहिदको सपना पुरा गर्नुपर्नेमा जोड दिनु भयो  ।


कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी, प्रदेश संयोजक श्याम बहादुर बोहोरा, तिलक पुन, बामपन्थी नेता धर्म केसी, सलीमकी आमा मीन कुमारी थापालगायत बिभिन्न राजनैतिक दलमा प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।


कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष उषा केसीको अध्यक्षता , सचिव उर्मिला थापाको संचालन, सविता लामाको स्वागतमा भएको थियो । बि.स. २०६० पौष १९ गते चितवनमा शहादत प्राप्त गर्नु भएको थियो ।