मोतीपुरमा निःशुल्क स्वास्थ्य शिबिर

प्रकाशित मिति:

हरिश ढकाल- रुपन्देही, ७ माघ । स्थानिय स्तरमा आम जनताका लागि स्वास्थ्य सेवा प्रबद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहापालीका वडा नम्बर १७ मोतीपुरस्थित एभरग्रीन पब्लिक बोर्डिङ्ग स्कुलमा सम्पन्न सो निःशुल्क स्वास्थ्य शिविरमा झण्डै १ हजार जनाले सेवा प्राप्त गरेका छन् । बुटवल १७ मोतिपुरस्थित एभरग्रीन पब्लिक बोर्डिङ्ग स्कुलको रजत महोत्सव अर्थात २५ औं बार्षिक उत्सवका अवसरमा ढकाल समाज प्रतिष्ठान र सामुदायिक सिकाई केन्द्रको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहरुलाई लक्षित गरि संचालन गरिएको सो स्वास्थ्य शिविरमा स्थानिय आम जनतालाई पनि स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी बितरण गरिएको थियो ।

स्वास्थ्य शिविरबारे जानकारी दिँदै एभरग्रीन पब्लिक बोर्डिङ्ग स्कुलका अध्यक्ष बाला तिवारीले बिद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै लोक कल्याणकारी कार्यहरु पनि गर्दै आएको बताउनु भएको छ । मानव जिवनका लागि शिक्षा र स्वास्थ्य अत्यन्तै महत्वपुर्ण बिषय भएकोले बिद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष तिवारीको भनाई छ । कार्यक्रममा बुटवल उपमहानगरपालीका वडानम्बर १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मी, वडा नम्बर १९ का अध्यक्ष चन्द्रसिंह थापा, बिद्यालयका प्राचार्य कपिल ढकाल, नेपाल ढकाल समाज रुपन्देहीका अध्यक्ष खोमराज ढकाल, नगर सचिव दीपक ढकाल लगाएतले स्वास्थ्य शिविरको महत्वबारे चर्चा गरेका थिए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सकहरु, स्टाफ नर्स लगाएतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण, ल्याव परिक्षण र औषधी बितरण गरेका थिए ।