चोरीका घट्ना बढ्न थालेपछि स्थानीय प्रहरी कार्यालयमा

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल-स्याङ्जा, स्याङ्जाको वालिङमा एकैरातमा पसल, घर र विद्यालय गरी झण्डै एक दर्जन ठाउँमा चोरी भएपछि स्थानीयहरुले वडा प्रहरी कार्यालय वालिङमा शान्तिसुरक्षाको माग गरेका छन् । वालिङ १३ झोलुङ्गे बजारमा एकैरातमा एकदर्जन स्थानमा चोरी भएपछि स्थानीयहरु वडा प्रहरी कार्यालय डेलिगेसनमा आएका हुन् । शान्ति सुरक्षामा प्रहरीको कार्य सम्पादन कमजोर हुँदा चोरीका घट्ना बढ्न थालेको स्थानीयहरुले आरोप लगाएका छन् । माघ २८ आइतबार राती झोलुङ्गे बजारमा ५ पसल, ४ घर र एक विद्यालयमा चोरी भएको थियो । स्थानीय घडी गुरुङ्का घरबाट सुन पाँच तोला, पुरन गुरुङ्को घरबाट गियरवाला साइकल, जग्गनाथ पाठकको पसलबाट ३० हजार नगद र विभिन्न ब्राण्डका मदिराहरु, विट्टु गैह्रेको पसलबाट नगद र समान, डिलुराम गैह्रेको पसलबाट ८५ लाख नगद सहित विभिन्न सामानहरु चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

झोलुङ्गे बजारमा रहेको जीवन ज्योती बोडिङ स्कुल, ब्युटिसियन, किराना पसल र घरहरुमा चोरले ताला फुटाएको प्रहरीले जनाएको छ । चोरी भएको स्थानमा विवरण संकलन गरी उक्त कार्यमा संलग्नको खोजी भएको प्रहरीले जनाएको छ । चोरी भएको ३ दिन वितिसक्दा पनि प्रहरीले अनुसन्धान प्रक्रिया नथालेको भन्दै वालिङ १३ का स्थानीयहरु वडा प्रहरी कार्यालय पुगेर छिटो अनुसन्धान गरी चोरी गर्ने व्याक्ति नियन्त्रणमा लिन आग्रह गरेका थिए ।वडा प्रहरी कार्यालय वालिङको शान्तिसुरक्षामा फितलो कार्य सम्पादन हुँदा एक हप्तामा धेरै ठाउमा चोरीका घट्नाहरु बढेका छन् । एक हप्ता अगाडी वालिङ ८ डुम्रीकोटमा घरबाटै रातो कलरको स्कुटर चोरी भएको थियो । अहिले सम्म न स्कुटर फेला परेको छ न चोरीमा संलग्नको पक्राउ भएको छ । वडा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीको कार्यशैली माथी नगरवासीले प्रश्न उठाउन थालेका छन् । डिएसपी हवारीले हामीले सुस्म अनुसन्धान गरिरहेको जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक संजय बहादुर राउतले चोरीका घट्नामा प्रहरी सचेत रहेको जिकिर गरेका छन् । आफ्ना मातहतका सबै इकाईहरुमा दिनभरी सुत्ने र रातभरी डियुटी गर्न निर्देशन दिएको बताए । जिल्लाका विभिन्न ठाउँमा भएका चोरीका घट्नाहरु फरक—फरक शैलीका देखिएका छन् प्रहरी प्रमुख राउतले भने,‘प्रहरीले पनि फरक—फरक शैलीबाट अनुसन्धान र प्रहरी खटाउने कार्य गरेको छ ।’ यस्ता घट्नामा जनताले पनि प्रहरीलाई सघाउनु पर्छ र साथ दिनुपर्छ उनले भने । जनताको शान्तिसुरक्षामा प्रहरीले कुनै कसुर बाँकी नराखी सेवामा खटिने उनले दावी गरे ।