काठमाडौं, फागुन- नेपाली कांग्रेसले ‘जिम्मेवार नेपाली कांग्रेस स् समुन्नत देश’ भन्ने मूल नारासहित राजनीतिक नीति अगाडि सारेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको नीति प्रस्ताव मस्यौदामा कांग्रेसको ध्येय लोकतान्त्रिक पद्धति र चरित्रको संरक्षणमा रहेको जनाइएको छ। नागरिकमा उत्पन्न निराशा चिर्दै जनतामा आशा र भरोसा कायम गरी संवृद्ध मुलुक निर्माण गर्न प्रतिबद्ध रहेको नीति प्रश्ताव मस्यौदामा उल्लेख छ। ‘सुशासन, भ्रष्टाचारको अन्त्य, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, सबै वर्ग, समुदाय, क्षेत्र, लिङ्गका नागरिकको अपनत्वसहित संविधानको पूर्ण पालना र लोकतान्त्रिक पद्धतिबाट लोककल्याणको प्रवर्द्धन गर्दै अगाडि बढ्न नेपाली कांग्रेस दृढ छ,’ प्रस्तावित नीति मस्यौदामा भनिएको छ।
संविधानले प्रत्याभूत गरेको मौलिक हक लगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय कानुनको निर्माणमा काम गर्नुपर्ने अवस्था रहेको मस्यौदामा जनाइएको छ। यस्तै समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न सकेको छैन। यसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशातीत सुधार आउन नसकेको पनि बताइएको छ। एउटा वर्ग आर्थिक रूपमा सम्पन्न हुने र अर्को वर्ग त्यसको दुष्चक्रमा परी कङ्गाल हुने अवस्था सिर्जना भएको, प्राकृतिक स्रोत साधनको असमान वितरण, शक्ति तथा स्रोत माथिको असमान पहुँच लगायतका कारणले नेपाली समाजमा असमानता बढाएको पनि मस्यौदा प्रतिवेदनमा जनाइएको छ। विगतमा गरिएका यस किसिमका गल्तीका कारण हाल अर्थतन्त्रका प्रमुख सूचकहरू ठिक हुँदाहुँदै पनि आन्तरिक अर्थतन्त्र जुन तहमा चलायमान हुनुपर्ने हो, त्यसो हुन नसकेको बताइएको छ। नेता खड्काको प्रतिवेदनमा नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोसा कायम गरी संवृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको समेत जनाइएको छ।
आगामी दिनमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलभूत मान्यताको जगमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढङ्गले प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहने भनिएको छ।कांग्रेसले राजनीतिक स्थिरता सहितको लोकतन्त्रका लागि आवश्यक नीति तय गर्नेछ। नेपालले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको कारण संसद्मा कुनै एक दलको बहुमत पुग्ने सम्भावना निकै कम देखिन्छ,’ मस्यौदा प्रशतावमा भनिएको छ, ‘सरकार गठनको लागि गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय रहेका बताउँदै यस्का लागि अत्यन्त गम्भीर भएर थप काम गर्नु पर्ने आवश्यकता रहेको बताइएको छ सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार निवारण ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने भनिएको छ। सम्पत्ति शुद्धीकरण ऐन तथा राजश्व अनुसन्धानसँग सम्बन्धित नीति, नियम, ऐन कानुनको समीक्षा गरी बलियो र प्रभावकारी बनाउने र यस्ता निकायहरूको पुनर्संरचना गर्ने नीति अख्तियार गर्ने नीति लिइने प्रतिवेदनमा उल्लेख छ।
हाल देखिएका बेरोजगारी, गरिबी, अविकास, उद्योग कलकारखानाको अभाव लगायतका समस्याहरूको समाधान उदार खुला अर्थनीतिबाट मात्र सम्भव रहेको जनाइएको छ। निजी क्षेत्रका लागि आवश्यक नीति, ऐन, कानुन तथा रणनीतिको तर्जुमा र निजी क्षेत्रले त्यसमा संलग्न भएर कार्य गर्ने नीतिले मात्र नेपालमा रोजगारीको सिर्जना, गरिबीको निवारण तथा द्रुत आर्थिक विकास सम्भव रहेको मस्यौदामा जनाइएको छ।यसका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गरिने, उत्पादनमूलक तथा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिने बताइएको छ। वैदेशिक लगानी आउनको लागि अवरोधको रूपमा रहेका नीति, ऐन, कानुनको समीक्षा गरी नेपाललाई दक्षिण एसियाकै एक आकर्षक वैदेशिक लगानीको गन्तव्यको रूपमा विकास गरि तीव्र रोजगारीको सृजना गरिने प्रतिबद्धता पनि छ।बढ्दो असमानताको अन्त्यका लागि नेपाली कांग्रेसले सक्नेलाई सशुल्क, नसक्नेलाई निःशुल्कको नीति तय गरी कार्यान्वयन गर्ने नीति अवलम्वन गरिने प्रतिवेदनमा उल्लेख छ। वञ्चितीकरणमा परेका वर्ग, समुदाय, क्षेत्र, लिङ्गका नागरिकलाई समतामूलक वितरण मार्फत उत्पादनमा सहभागी हुन सक्ने वातावरण तयार गरिने भनिएको छ।संघीयतालाई प्रभावकारी बनाउनका लागि संघीय सरकारले नीति निर्माण, प्रादेशिक सरकारले विकास कार्य र स्थानीय सरकारले नागरिकका दैनिक जीवनसँग सम्बन्धित सेवा प्रवाह गर्ने सिद्धान्त र नीतिको पूर्ण परिपालना गरिने छ,’ मस्यौदा प्रश्तावमा उल्लेख छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, निष्पक्ष, प्रभावकारी र निश्चित समयभित्र प्राप्त गर्न सक्ने गरी आवश्यक नीतिगत व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयनप्रति प्रतिबद्धता जनाइएको छ।
४० वर्ष उमेर मुनिका युवा र देश विदेशमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञ व्यक्तिको लागि पार्टीको सम्पूर्ण समितिमा निश्चित प्रतिशत सिट छुट्याउने नीति तय गर्ने भनिएको छ। विदेशमा बसी रोजगारी, सीप तथा शिक्षा प्राप्त गरेका युवा मात्र रहने गरी पार्टीमा छुट्टै विभाग गठन गरिने प्रतिवेदनमा उल्लेख छ।पार्टी संगठन र सदस्यलाई राजनीतिक रूपमा निरन्तर क्रियाशील बनाई राष्ट्र निर्माणको अभिभारा उठाउन सक्ने सक्षम, सवल र प्रभावकारी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसलाई विकसित गरिने भनिएको छ। पार्टीको आन्तरिक शक्ति अभिवृद्धि गर्दै आन्तरिक सुशासन सुनिश्चित गर्ने थप नीति तय गरिने प्रतिवेदनमा उल्लेख छ।












