फागुन २, नवलपरासी
साधना लघुवित्त वित्तीय संस्थाले वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पश्चिम नवलपरासीको गोपिगन्जमा संस्थाले वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले लघुवित्तको क्षेत्रमा विषयमा फिजाइएको बाहिरी हल्लाको पछि नलागी लघुवित्तबाट लिइएको कर्जाको सहि सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । चौधरीले लघुवित्तहरुले नागरिकको हितमा कार्य गर्दा स्थानिय सरकारहरुसँग समेत समन्वय गर्नुपर्ने र प्रतापपुर गाउँपालिका त्यस्ता कार्यमा साथ दिन तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै साधना लघुवित्त वित्तिय संस्थाका सहायक महाप्रबन्धक सरिता ढकालले साधना लघुवित्त वित्तिय संस्था उत्कृष्ट वित्तिय संस्था रहेको भन्दै सेवा र पहुँचको लागि संस्था सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । सदस्यहरुले वित्तिय अनुशासन कायम गरेको खण्डमा अप्ठेरो नपर्ने भन्दै संस्था सधैव सदस्यहरुको हकहितको लागि प्रतिबद्ध रहेको ढकालले बताउनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष तथा बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहले अरुको देखासिखीमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी खर्च कटौति गरी बचत गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सुस्ता गाउँपालिकाका लेखा समिति संयोजक गणेश प्रसाद उपाध्यायले लघुवित्तबाट लिएको कर्जा तिर्नु नपर्ने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा वाल्मिकी ग्रामिण सहकारी संस्थाका प्रतिनिधि नाथुराम क्षेत्रीले यस क्षेत्रमा लघुवित्तिय संस्थाले महिला शसक्तिकरण तथा अर्थोपार्जनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी चौकी सेमरीका प्रतिनिधि सन्जिव गुरुङले लघुवित्तले नियमअनुसार सदस्यहरुलाई सेवा प्रदान गर्न आग्रह गर्दै सुरक्षाको लागि आफूहरु सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका केन्द्रीय प्रतिनिधिबाट पुर्ण वित्तिय सचेतना तथा संस्थागत समस्याहरुको पहिचान र समाधान सम्बन्धमा सदस्यहरुसँग छलफल गरीएको थियो ।
संस्थाको गोपिगन्ज शाखाकी कर्मचारी शुष्मा आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखा प्रमुख शिव प्रसाद पंगेनीले शाखाको प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाकी सदस्य अनु देवी सुनारले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रमा संस्थाका विभिन्न सदस्यहरुले आ–आफ्नो सफलताको कथा प्रस्तुत गर्नुभएको थियो भने उत्कृष्ट समुह केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।












