राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

प्रकाशित मिति:

काठमाडौं, फागुन : राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।राष्ट्रिय सभामा मंगलबार भएको मतदानमा मतदानमा ५६ जना सांसद उपस्थित रहेकाेमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हाे।सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्।

सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार रहेका दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए। निर्वाचित दाहाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। यसअघि राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियाे। उनी कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए।मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन। राष्ट्रिय सभामा जनमोर्चाका एक जना मात्र सदस्य छन्। ती सदस्य तुलप्रसाद विश्वकर्मा हुन्। राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बोलाइएको छ ।