बुटवल १२ राजपुर खोलामा पक्कि पुल निर्माण कार्यशुरु

प्रकाशित मिति:

हरिश ढकाल-बुटवल, १३ चैत्र । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित राजपुर खोलामा पक्कि पुलको निर्माण कार्य शुरु भएको छ । बुटवल उपमहानगर र स्थानिय उपभोक्ताको कुल ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पुलको बुटवल १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले एक समारोहका बिच शिल्यान्यास गर्नुभयो । विगत लामो समयदेखि पुलको अभावमा आवतजावतको समस्या झेल्दै आएका बुटवल १२ तामनगरस्थित राजपुरका बासिन्दा अव सो समस्याबाट मुक्त हुने भएका छन् । राजपुर खोलामा पक्कि पुल निर्माण हुने भएपछि राजपुर खोला पुर्व र पश्चिम सडक सन्जालले जोडिने र आवतजावतमा सहजता आउने भएको हो ।

पुलको शिलान्यास गर्दै बुटवल १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले बिकासका दृष्टिले पछाडी परेको तामनगर र राजपुुर क्षेत्रको बिकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने आवश्यक्त रहेको बताए । मानव जिवनलाई सहज बनाउने खालका बिकास निर्माणमा जोड दिँदै अध्यक्ष शर्माले दिगो बिकासमा जोड दिन स्तानियलाई आग्रह गरे ।पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुरको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदी, सक्रिय टोल बिकास संस्थाका अध्यक्ष भेषनारायण भण्डारी प्राबिधिक ईश्वरी प्रसाद आचार्य, उपभोक्ता समितिका उपाध्यक्ष हरिश ढकाल, सचिव भिमबहादुर थापा लगाएतले बोल्दै पक्की पुल निर्माण पछि ३ वटा टोललाई जोडन र आवतजात गर्न समेत सहजता भै आतमियता समेत बढ्ने बताए ।

स्थानियका अनुसार तामनगरका ३ वटा टोलका सयौं घरपरिवारलाई घुमाउरो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । राजपुर टोल विकास समिति, सक्रिय टोल विकास समिति, बुद्धटोल विकास समितिका स्थानियलाई यो पुल निर्माण पछि आवात जावतमा सहजता हुने उनिहरुले बताएका छन् । २० मिटर लामो र १२ फुट चौडाईको सो पुलबाट साना तथा मझौला सवारी साधनहरुमात्र आवत जावत गर्न सक्ने छन् । आउदो आर्थिक वर्ष ८०–८१ मा सम्पन्न गर्नका लागि सबैतिरबाट पहल गर्नु पर्ने बताउदै योजना निर्माणमा कुनैपनि कमी कमजोरी हुन नदिने र सहयोगका लागि सबैलाई अपिल समेत गरेका छन् ।यो पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका धार्मिक स्थलहरु शिवपुरी धाम, सुपादेउराली मन्दिर, दुर्गा मन्दिर तथा गणेश मन्दिरमा पनि स्थानिय तथा बाह्य क्षेत्रबाट धार्मिक पर्यटकहरु ल्याउन सकिने बताए । साथै तामनगरमा रहेको कोरियन टेक्निकल इन्स्च्यिूट, जिपी कोइराला प्रतिस्ठान जस्ता ठुला योजना समेत संचालन तथा निर्माणमा रहेका छन् ।