डा.बालकृष्ण चापागाईं- संसारमा अनेकौ धर्म र दर्शनहरु अस्तित्वमा रहेका छन् । हरेक धर्म र दर्शनका आ–आफ्ना विशेषता, मूल्य र मान्यताहरु रहेका छन् । नेपालमा उदय भएको बौद्ध धर्मदर्शनका आफ्नै प्रकारका मौलिक विशेषताहरु रहेका छन् । बौद्ध विद्वान् गुनार गाल्मोद्वारा लेखिएको ‘अ फ्यु फ्याक्ट्स अवाउट बुद्धिज्म’ पुस्तकमा बौद्ध धर्म दर्शनका विशेषताका बारेमा चर्चा गरिएको छ । प्रस्तुत पुस्तकमा बौद्ध धर्म दर्शन कुनै भौगोलिक सीमा भित्र संकुचित नभएर यसको प्रभाव विश्वव्यापी रहेको, यो कुनै निश्चित एक विचारमा आधारित नभई सर्वव्यापी भएको, यसले कहिल्यै पनि अरुको अधिकारमाथि कब्जा जमाउने सोच नराखेको, जातीय समानतामा जोड दिएको, धार्मिक स्वतन्त्रताको पक्षमा रहेको, कसैको जित र कसैको हारको विषय हुने कुनै पनि घटनाहरूमा यो धर्मदर्शन मौन रहने गरेको र अन्ततः न्याय र समानताको पक्षमा देखिएको चर्चा गरिएको छ । संसारमा समय–समयमा आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक एवम् वर्ण, जाति र लिङग भेदका आधारमा हुने विभिन्न हिसां र द्वन्द्वका घटनाहरूको न्यूनीकरणमा यो धर्म दर्शनले सकारात्मक भूमिका खेलेको छ । यस्तै विश्वमा बौद्ध विश्वविद्यालयहरूको स्थापना भई बौद्ध शिक्षा दिन थालिएपछि शान्ति चेतको सञ्चारमा तीव्रता आएको चर्चा छ । साथै विश्वका जुन सुकै धर्मका अनुयायीहरूको समुदायमा पनि बौद्ध धर्म दर्शन सहजै अटाउन सकेको, प्रारम्भमा बौद्ध धर्म दर्शन बुझ्नका लागि पालि भाषाको माध्यम खोज्नु पर्ने अवस्था रहेको र समयक्रममा विश्वका विभिन्न मुलुकमा बौद्ध धर्मदर्शनको प्रचार भएको बारे विभिन्न कोणबाट चर्चा र विवेचना गरिएको छ । यसै क्रममा युरोप र उत्तर अमेरिकामा पनि बौद्ध धर्म बारे जिज्ञासा बढ्न थालेको, पश्चिममा बौद्ध धर्ममा बढ्दो चासोको लागि ठूलो महत्वको साथ पाठ एड एडन अर्नोल्डको महाकाव्यमा ‘लाइट अफ एशिया’ को उल्लेख हुनुले बौद्ध धर्मदर्शनको महत्वलाई अरु बढाएको छ भन्ने पुष्टि गर्दछ ।यस पुस्तकका लेखक अर्नोल्डलाई कतिपयले ‘मूर्ख’ को संज्ञा समेत दिदँै त्यसको प्रतिवादका रूपमा यीशुको बारेमा ‘विश्वको लाइट’ महाकाव्य लेख्न समेत लगाइएको पनि प्रस्तुत पुस्तकमा चर्चा गरिएको छ ।
उन्नाइसौँ शताब्दीमा बौद्ध धर्मदर्शनका महत्वपूर्ण विषयहरू पालि भाषाबाट पश्चिमी मुलुकका भाषामा अनुवाद गर्न थालिएको, त्यसमा पनि धेरै अनुवादहरू अंग्रेजीमा गरिएको, त्यसपछि जर्मनीमा अतीतको शताब्दीको एक महत्वपूर्ण संस्थाले इंग्ल्याण्डमा पालि टेस्ट सोसाइटी निर्माण गरेको, क्यानलिकल पालि पदहरू प्रकाशित गरिएको भन्दै अंग्रेजी अनुवाद र पालि मूल लैटिन ट्रान्सलिटेरेशनबाट विश्वमा बौद्ध धर्म दर्शनको प्रचार प्रसार गरिएको पाइन्छ ।त्यस्तैगरी सञ्चारविद् जन सर्भेसद्वारा लेखिएको ‘कम्युनिकेसन फर डेभलपमेन्टः वन वल्र्ड मल्टिपल कल्चर्स’ नामक पुस्तकमा विश्वको समग्र विकासमा सञ्चारको महत्व बारे विभिन्न कोणबाट चर्चा गरिएको छ । कुनै पनि दर्शन, सिद्धान्त, राजनीति, संस्कृति र प्रविधि यावत् क्षेत्रमा सञ्चारले प्रभाव पारेको बारे यस पुस्तकमा विश्लेषण गरिएको छ । विकासका कुरा त गरिन्छ तर त्यो विकासको सुरुवात कसरी गर्ने ? यो महत्वपूर्ण प्रश्न रहेछ । यो विन्दु पत्ता लगाउन सबैभन्दा कठिन कुरा रहेछ । यो पत्ता लगाउने क्रममा धेरै गल्ती भइसकेका हुँदा रहेछन् । मानिसले धेरै गल्ती गरेपछि मात्रै सहि कुरा सिक्दो रहेछ ।प्रस्तुत पुस्तकमा विकासका लागि विभिन्न सांस्कृतिक पहिचानहरूको बीच सकारात्मक सञ्चार हुनुपर्ने, प्राकृतिक सन्तुलनमा जोड दिनु पर्ने, समाजमा हिंसा भड्किने अवस्था आउन नदिन प्रयास गर्नुपर्ने क्रामा जोड दिइएको छ । सांस्कृतिक र जातीय मतभेदलाई राजनीतिक रूपमा समाधान गरिनुपर्ने कुरा उल्लेख गरिएको छ ।सन् १९५० को दशकमा आधुनिकताको दृष्टिकोणमा अधिक सामाजिक, मनोवैज्ञानिक, राजनैतिक र सांस्कृतिक कारकहरूलाई विचार गरिन्थ्यो । आधुनिकताको अभियानमा सञ्चार प्रक्रियाहरूको स्थान र भूमिका बारे पनि परीक्षण गरिएको थियो । यो मोडेलले सञ्चार प्रक्रियालाई एक प्रेषकबाट एक रिसीवरमा सजिलै पठाउन प्रभावकारी बनेको उल्लेख गरिएको छ । अन्र्तराष्ट्रिय सम्बन्धलाई मैत्री र प्रगाढ बनाउनमा सञ्चारको भूमिका महत्वपूर्ण हुने, विभिन्न भाषा संस्कृतिको प्रभाव विस्तारमा योगदान र पूर्वीय एवं पाश्चात्य जगत बीचको सभ्यतालाई जोडनमा सञ्चारले विशेष भूमिका खेलेको चर्चा गरिएको छ ।
योजना निर्माण, सामाजिक परिवर्तन, प्रविधिको हस्तान्तरण, सहकार्य र सहमतिको वातावरण निर्माण, प्रकृति, मानव र संस्कृतिलाई जोडने कार्य, गाउँ र शहर बिचको संस्कृतिलाई जोडने काम जस्ता कुरामा सञ्चारका माध्यम र तरिकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ती सञ्चार माध्यमहरू भनेका छापा, रेडियो, टेलिभिजन, अनलाइन, इनस्टाग्राम, वाट्सअफ, फेसबुक, युट्युव, भाइबर, इमो, स्काइप आदि भएको बारे प्रस्तुत पुस्तकमा चर्चा गरिएको छ ।त्यस्तैगरी राहुल सांकृत्यायनद्वारालिखित ‘बौद्ध दर्शन’ नामक पुस्तक अत्यन्त चर्चित पुस्तक हो । यसलाई पं.बाबुराम भट्टराईले हिन्दीबाट नेपाली भाषामा अनुवाद गरेका छन् । यस पुस्तकमा गौतम बुद्धको जीवनी, गौतम बुद्धका मूल सिद्धान्त र उनका विचारको चर्चा गरिएको छ । साथै बुद्धकालीन सामाजिक अवस्थाको विवेचना पनि छ । दर्शनसंग सम्वधित यस पुस्तकमा तत्कालीन परिवेशमा अस्तित्वमा रहेका विभिन्न वादको विवेचना गरिएको छ । यस क्रममा आकृतिवाद, क्षणिकवाद, बीजवाद र परमाणुवादको समेत विश्लेषण छ । साथै विज्ञान (आकृति), विशेष, सामान्य (जाति), मूल स्वरूप, सृष्टिकर्ताको समेत चर्चा यसमा छ । यस पुस्तकमा उपादान कारण र निमित्त कारणको पनि विवेचना छ । यस्तै तर्कशास्त्र, द्रव्य, गुण, कर्म, दिशा, काल, परिमाण, आसन, स्थिति जस्ता विषयहरू पनि उल्लेख छन् । पूर्वीय विचारका अतिरिक्त पाश्चात्य चिन्तकका विभिन्न वादको समेत समीक्षा गर्ने क्रममा पिथागोरस, हेराक्लिटो, अन्खागोर, डेमोक्रोट्स, प्लेटो र अरस्तु आदि आविष्कारक तथा चिन्तकहरूको वारेमा पनि यस पुस्तकमा तुलनात्मक अध्ययन गरिएको छ । यसले पूर्वीय एवं पाश्चात्य दार्शनिक चिन्तकका विचार र बौेद्धदर्शनसंग सम्वन्धित विषयमा विशेष जानकारी दिएको छ ।
प्राध्यापक विमल दिसनायकेद्वारा लेखिएको ‘आइडिया अफ भरवल कम्युनिकेसन इन अरली बुद्धिज्म’ नामक पुस्तकमा विश्वले बुद्ध धर्मलाई धर्मको रूपमा भन्दा पनि अझ बढी दर्शनको रूपमा चिन्दछ । बुद्ध दर्शन आध्यात्मवादी दर्शनभन्दा पनि बढी भौतिकवादी दर्शनको रूपमा स्थापित छ । यसको अर्थ बुद्ध दर्शनको पद्धति भौतिकवादी चिन्तनमा आधारित छ भन्ने हो । बुद्ध धर्म वा दर्शन हिन्दु धर्मको कट्टरताको प्रतिवादमा जन्मेको हो । बुद्ध धर्म उँच नीच जाति पाती आदि सम्बन्धी सामाजिक भेदभावको प्रतिवादमा जन्मेको हो । तर हिन्दु धर्मले बुद्ध धर्मलाई हिन्दु धर्मकै अभिन्न अंगको रूपमा ग्रहण ग¥यो । बुद्धलाई हिन्दु अवतारवादी मान्यतामा आधारित रही बुद्धलाई नवौँ अवतारको रूपमा अंगीकार ग¥यो । मुख्यतः भौतिकवादी चिन्तनमा विश्वास गर्दै ईश्वरको अस्तित्वलाई अस्वीकार गर्ने बुद्धलाई यसका अनुयायीहरूले भगवानको रूपमा स्थापित गरे । बुद्ध धर्म वा दर्शनको वैज्ञानिक चिन्तन र सत्यको पक्ष पोषणले गर्दा नै यसले संसारभरि नै आफ्नो प्रभाव जमाउनमा ठूलो सफलता प्राप्त ग¥यो । बौद्ध धर्म वा दर्शनले यति धेरै व्यापकता लिनका खास कारण यसको सत्यताप्रतिका निष्ठा तथा अनवरत खोजी त हुँदै हो त्यो भन्दा पनि अझ बढी यसको प्रभावकारी प्रचार विधि पनि हो । यस कुरामा कुनै सन्देह छैन कि बुद्ध धर्म वा दर्शनले मानव समाज र मानव जीवनका प्रायः सबै आयामलाई अंगीकार गरेको छ । ती बारेमा आफ्ना अनुसन्धान र मान्यतालाई उद्घाटित गरेको छ । यति भएर पनि बुद्ध धर्म वा दर्शन राजनीति बारे लगभग उदास वा निरपेक्ष रहेको छ । जब कि समाजका हरेक समस्याको राजनैतिक समाधान नै खोज्ने गरिन्छ । विमल दिसनायकले यस लेखमा बौद्ध धर्म वा दर्शनका सबै पाटाहरूलाई चर्चामा ल्याउँदा ल्याउँदै पनि राजनीतिक पाटोलाई यस कारणले आफ्नो चर्चाको विषय वस्तु बनाएका छैनन् कि स्वयं बुद्धले नै राजनैतिक जीवनको बाटोलाई परित्याग गरेको हुनाले पनि होला त्यसबारे खासै मतलब राखेको पाइदैन । विमल दिसनायकेले भनेका छन्—‘बुद्धवाद संसारको एउटा अत्यन्त महत्वपूर्ण धर्म हो जसले मानवजातिमा ठूलो प्रभाव पारेको छ । बुद्धवादले धार्मिक, दार्शनिक, नीतिशास्त्र, नैतिकता र साँस्कृतिक आदि क्षेत्रमा अत्यन्त गम्भीर प्रभाव प्रदर्शित गरेको छ । बुद्धको चमत्कारिक मौखिक सम्प्रेषण कला तथा शैली निकै प्रभावकारी रहेको थियो ।
त्यस्तैगरी दिसनायकेले बुद्धले आफ्नो सन्देश प्रवाह गर्न नैतिक कथा, रूपक अलंकार, चार्तुयता, हाँस्य, नवीनतम मौलिक अभिव्यक्ति, समानान्तर तुलना पद्धति आदिको जुन ढंगले प्रयोग गरेका छन्, त्यो छुट्टै अध्ययन अनुसन्धानको विषय भएको बताएका छन् । भवतु सब्ब मंगलम् ।