सृष्टि सामुदायिक वन उपभोक्ता समितिको ८औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

फाल्गुन ४

नवलपरासी – सरावल–१ सालवासमा रहेको सृष्टि सामुदायिक वन उपभोक्ता समितिको ८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सिरी बहादुर शाहीको अध्यक्षता तथा बर्दघाट सरावल सब डिभिजन वन कार्यालयका वन अधिकृत बलराम पोखरेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।


कार्यक्रममा बर्दघाट सरावल सब डिभिजन वन कार्यालयका वन अधिकृत बलराम पोखरेलले वनलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। निजी तथा नम्बरी जग्गामा रहेका रूखहरू के गर्ने भन्ने प्रश्न धेरै आउने गरेको उल्लेख गर्दै पोखरेलले २८ प्रजातिका रुख काट्न मिल्ने कानुनी व्यवस्था रहेको जानकारी गराउनु भयो। अन्य प्रजातिका रुख कानुनी प्रक्रिया पूरा गरी काट्न सकिने भए पनि निजी नम्बरी जमिनमा सालको रुख काट्न नसकिने उल्लेख गर्नु भयो।


वैज्ञानिक वन महासंघका केन्द्रीय सदस्य तथा संसारकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल प्रसाद पराजुलीले वन क्षेत्रमा नीतिगत समस्या रहेको उल्लेख गर्नुभयो। सुकेका र ढले पढेका रुखहरूको व्यवस्थापन गर्न अहिलेको नीतिमा समस्या रहेको उहाँको भनाइ थियो।


खोल्सा–खोल्सी व्यवस्थापनका लागि प्रदेश सरकारले ल्याएको नीति राम्रो भए पनि आम्दानी वितरण न्यायोचित नभएको पराजुलीले उल्लेख गर्नुभयो । “खोल्साखाल्सी व्यवस्थापनबाट आउने निर्माणजन्य सामग्रीको अन्दानीको बाँडफाँडमा हाल लागू प्रणालीअनुसार सामुदायिक वनलाई १० प्रतिशत, प्रदेश सरकारलाई ५५ प्रतिशत, र स्थानीय तहलाई ३५ प्रतिशत आम्दानी बाँडफाँट गरिने व्यवस्था छ, जसले वन संरक्षण गर्ने समुदायलाई अन्याय परेको छ।” पराजुलीले भन्नुभयो


कार्यक्रममा सरावल–१ का कार्यवाहक वडा अध्यक्ष बुद्धन प्रसाद चौधरी, संसारकोट हरियाली सामुदायिक वनका सचिव कमला सुवेदी, उपभोक्ता चेत नारायण चौधरी र हरि बस्याललगायतले वन संरक्षणमा सबै पक्षको सहभागिता आवश्यक रहेको धारणा राख्नुभएको थियो। साधारण सभामा जेष्ठ नागरिक, एकल महिला, विपन्न परिवार, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा गरिब तथा विपन्न परिवारका ५ वर्ष मुनिका बालबालिकालाई सम्मान गरिएको थियो।


सभामा वन संरक्षण, व्यवस्थापन, नीतिगत विषय र आम्दानी वितरणबारे विस्तृत छलफल भएको थियो।
समितिले ५३० घरधुरीका उपभोक्ताहरूलाई सेवा प्रदान गर्दै आएको छ । वनको क्षेत्रफल १९७.६७ हेक्टर रहेको समितिको वार्षिक आम्दानी रु. ५३ लाख ३५ हजार ९८ पुगेको छ।


साधारण सभाले अध्यक्ष सिरी बहादुर शाही, सचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष लीलानाथ चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र लेखा समिति संयोजक शान्ति केसीले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन पारित गरेको छ।समितिका अध्यक्ष सिरी बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अर्जुन कुमार चौधरीले स्वागत मन्तव्य र सहसचिव फरेन्द्र चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।