“थारु संस्कृतिको पृथक इतिहास छ”- संविधान सभा सदस्य 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फाल्गुन १४ गते
नवलपरासी। संविधानसभा सदस्य बिक्रम खनालले
थारु संस्कृतिले पृथक इतिहास बोकेको उल्लेख गर्नुभयो। आदिवासी थारु समुदायलाई असल भूमिपुत्रका रूपमा सम्मान गर्दै उनीहरूको संस्कृति संरक्षण गर्ने तर्फ जोड दिनु पर्ने धारणा राख्नु भयो।


शिवशक्ति युवा क्लब, बर्दघाट-११ गैडहवाले महाशिवरात्रिको अवसरमा आयोजना गरेको थारु समुदाय विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै खनालले सबै धर्म, संस्कृति, र परम्पराको सम्मान गर्दै सहअस्तित्व स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।


खनालले भन्नुभयो, “संस्कृतिनै पहिचान र सभ्यताको जननी हो। नेपाल जातजाति र भाषीहरूको सुन्दर फुलवारी हो, जहाँ विभिन्न समुदायका पर्व, भेषभूषा, र परम्पराले अनेकतामा एकताको भावनालाई मजबुत बनाएको छ। यस्तो भातृत्व सधैं कायम राख्नुपर्छ।”


उहाँले यस्ता सांस्कृतिक कार्यक्रमहरूले समुदायको मौलिक पहिचान संरक्षणमा टेवा पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रममा बर्दघाट नगरपालिका प्रवक्ता सन्त बहादुर गाहा, सामाजिक विकास समितिका संयोजक भीमकाजी गुरुङ, वडा नम्बर ११ का वडाध्यक्ष फरेन्द्र चौधरीसहित थारु समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डोल्मा चौधरीले गर्नुभएको थियो।