दाउन्ने सडक: विस्तारको ढिलाइ, सर्वसाधारणको सास्ती- ‘दाउन्ने पार गरेपछि युद्ध जितेझैं लाग्छ’ — सवारी चालक

प्रकाशित मिति:

प्रकाश न्यौपाने – बैशाख ६ गते- नवलपरासी ।बर्दघाट, नवलपरासी – नेपालकै महत्वपूर्ण पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारको ढिलाइले यात्रु सास्ती भएको छ । पानी आउदा हिलाम्मे र घाम लाग्दा घुलाम्य हुने दाउन्ने सडक खण्डको बिषेशता जस्तो भएको छ । सडकको अवस्थाका कारणले यात्रु तथा स्थानीयवासीहरूलाई वर्षौंदेखि सास्ती व्यहोर्न बाध्य भएका छन् ।चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले सन् २०१९ (२०७५ चैत) मा सडक निर्माणको जिम्मा लिएको भए पनि लगभग ६ वर्ष बितिसक्दा पनि ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। निर्धारित ४२ महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौता भए तापनि म्याद दुईपटक थपिएको छ।

‘दाउन्ने पार गरेपछि युद्ध जितेझैं हुन्छ’ सवारी चालक- हालैको दाउने सडकखण्ड यतिबेला घाम लाग्यो भने ठूलै ठूलो र पानी पर्यो भने हिलै हिलोका कारणले यात्रुले थप सकस पाएका छन्। पछिल्लो केही दिन परेको बर्खाका कारणले गर्दा यात्रु लामो समयसम्म जाममा परेका हुन् । दाउने सडक खण्डको यात्रा गर्ने यात्रु हरू को यात्रा अत्यन्तै कष्टकर बनिरहेको छ। सवारी चालक अमर चौधरीले बताउनुभयो।उहा भन्नु हुन्छ- “म २८ गते आउँदा दाउन्ने सडक खण्डमा आउँदा घाम चर्को थियो । धुलोले बाटो नै देखिएको थिएन त्यसपछि वैशाखको ३ गते फेरि पानी परेको थियो । सडकमा हिलोले गाडी चिप्लिरहेको थियो र फेरि लामो समय जाममा परियो।” दाउनेको सडक खण्ड सुरु भएपछि कहाँ र कतिबेला जाममा परिन्छ भने भने सवारी साधन चलाउनुपर्ने बाध्यता रहेको चौधरीको भनाइ छ । दाउन्ने सडक खण्डमा यो बाध्यता भोग्ने चौधरी मात्रै होइनन्। दैनिकी हजारौंको संख्यामा रहेका सवारी चालकले यो बाध्यता भोगिरहेका छन्। दाउन्ने खण्डको १६ किलोमिटर सडक छिचोल्न अहिलेपनि एक घण्टा लाग्छ भने असहज मौसममा त्यो समय १०–११ घण्टा पुग्छ। अझै २ किलोमिटर पहाड काट्न बाँकी छ। यात्रु र साना सवारी चालकहरू ‘दाउन्ने पार गरेपछि युद्ध जितेझैं’ अनुभव हुने बताउँछन्। सडक खण्डमा २ सय ६३ मध्ये २ सय १० वटा कल्भर्ट निर्माण सम्पन्न भएका छन् भने साना पुल ३८ मध्ये आधा मात्र बनेका छन्। ठूला पुलहरूको काम भने लगभग सम्पन्न भएको छ।

सवारी चालकले मात्रै होइन ती सवारी साधनमा सवार हुने यात्रुले समेत हिलो र धुलोका कारणले दाउने सडक खण्डमा यात्रा कठिन भएको महसुस गरिरहेका छन्। यति मात्रै होइन दाउन्ने सडकखण्ड कतिबेला पार गर्न सकिएला भनेर मनमा त्रास बोकेर यात्रा गर्नुपर्ने अवस्था रहेको यात्रुहरूको गुनासो छ। दाउन्ने सडक खण्डको सडकमा पानी पर्दा बाटो चिप्लिएर र घाम लाग्दा धुलाम्मे भएर अर्को सवारी साधन नदेखिएर सवारी दुर्घटना जोखिमसमेत बढेको सवारी चालकहरूको गुनासो छ। अहिले दैनिकी जस्तो यात्रुहरू लामो समयसम्म जाममा पर्ने र यात्रुहरूको यात्रा सडकमै अलपत्र हुने अवस्थाबाट दाउन्ने सडक खण्डको यात्रा चलिरहेको छ।

‘बजार क्षेत्र अझै अस्तव्यत हुँदा व्यापार चौपट’-सडक कालोपत्रेमा खासगरी दाउन्ने पश्चिम खण्ड (बर्दघाट–दाउन्ने ४८.५३ किमी) मा हालसम्म ३२ किलोमिटर मात्र कालोपत्रे सम्पन्न भएको छ। खैरेनी, घोडाहा, र बर्दघाट जस्ता व्यस्त बजार क्षेत्रमामा समेत पूर्ण रुपमा कालोपत्रेकाे काम सकिएको छैन। स्थानीय बजार क्षेत्रमा समेत काम पूरा नहुँदा स्थानीयवासीहरू समेत धुलाम्मे रूपमा हुनुपर्ने अवस्था रहेको छ । दाउनेको धुलो र ट्राफिक जामले समेत वर्दघाटका स्थानीय व्यापारीहरू समेत आजित परेका छन्। बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले राज्यको उपस्थिति जिरो रहेको बताउनुभयो। “यति धेरै वर्षसम्म नागरिकले दुःख पाइरहेका छन् दैनिकी हजारौंको सङ्ख्यामा यात्रा गरिरहने यात्रुहरु छन् यी यात्रुहरुले दुःख पाएको राज्यले देखेको छैन। हामी निजी क्षेत्रले पटकपटक राज्यको ध्यान आकर्षण गराउने प्रयास गर्यौँ। अहिलेसम्म राज्यले न त स्थानीय व्यापारीहरूको न त यात्रुहरू कुनै दुःख देखेको छ ।” न्यौपानेले भन्नु भयो। “तीन–चार वर्ष भयो, बाटो बन्ने छाँटकाँट छैन। व्यापार चौपट छ। सामान राखेका धुलोले नचिनिने छन्। यो अवस्था हेर्दा बर्दघाट छाड्नुपर्ने हो कि जस्तो लाग्छ।”

निर्माण सुस्त, जोखिम उच्च-चाइना स्टेटका सूचना अधिकारी बेचन भट्टराईका अनुसार हाल पश्चिम खण्डमा हाल कामको गति तिब्र बनाइएको बताउनु भयो। “अहिले कामकाे गति तिब्र भएको छ । असारभित्र एकतर्फी कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यही अनुसार काम अगाडि बढेको छ।” उहाले भन्नु भयो। असार आउन अब २ महिना र केही दिन मात्रै बाँकी छ । अहिलेको कामकाे गती हेर्दा असारसम्म एकतर्फी सडक सञ्चालन हुनेमा ढुक्क हुन सकिने अवस्था समेत देखिदैन। बर्दघाट बजार क्षेत्रमा २ किमी दुरीमा चारवटा कल्भर्ट निर्माणका कारण सडक अझै साँघुरो र असहज बनेको छ। अहिलेसम्म बर्दघाट बजारकै बाटो एकतर्फी समेत बन्न सकेको छैन।अहिले रातिको समयमा सवारी आगमन नै बन्द गरेर सडक मर्मतको काम गरिरहेको छ।२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको यो परियोजना आठ वर्ष पुग्दै गर्दा पनि सम्पन्न हुने सम्भावना देखिँदैन। दाउन्ने खण्ड अहिले सास्तीको प्रतीक बनेको छ। स्थानीय बासिन्दा, यात्री, व्यवसायी सबैले सडक विस्तारका कारण सास्ती पाएका छन्। अहिले जनताले पाएको यो शास्ति स्थानीय जनप्रतिनिधि तथा नेताहरूलाई भेट्ने बित्तिकै गुनासो राख्ने गरेका छन्। केही दिन अगाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत दाउनेको सडक खण्ड बाट यात्रा गर्दै बर्दघाट आइ पुग्नुभएको थियो । उहाँले एउटा कार्यक्रममा सम्बोधन गर्ने क्रममा दाउने सडक खण्डको बाटोको यात्राबाट मसँग सँगै आएका सहकर्मीहरूको ढाड सड्केको बताउनुभएको थियो। उहाँको यो भनाइबाट पनि दाउने सडक खण्ड अत्यन्तै कष्टकरपूर्ण यात्रा छ। भन्ने सहज रुपमा बुझ्न सकिन्छ। उहाँको कार्यक्रममा जाने धेरै नेता तथा कार्यकर्ताले समेत दाउने सडकखण्ड छिटो निर्माणका लागि पहल गर्दिन पूर्व प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेका छन। पछिल्लो समय कामको तिब्रताका कारण केही आस पलाएको पनि योजना अनुसार असार मसान्तसम्म बुटवल नारायणघाटसम्मकाे सडकको एकतर्फी बाटो सुचारुमा ढुक्क हुन सकिने अवस्था छैन।