संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई साझा श्रद्धा र शान्तिको भूमि भएको घोषणा गर्नुभएको छ। सोमबार आयोजित २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गौतम बुद्धलाई समस्त मानव जातिको साझा ज्योति भनी वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, “बुद्धको ज्ञान कल्याणकारी छ, जुन सबै प्राणीको हितका लागि प्रज्वलित भएको हो। बुद्धको करूणा, ज्ञान र सद्भावका शाश्वत शिक्षाहरूले मानव जीवनलाई सत्मार्गमा डोयाउँदै विश्वभर शान्तिको सन्देश फैलाएका छन्।”मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वस्तरमा आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा स्थापित गर्न सरकारले दृढ प्रतिबद्धता व्यक्त गरिरहेको बताउनुभयो। साथै, लुम्बिनीको दीर्घकालीन हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाइने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
उहाँले थप्नुभयो, “हामीबीच रहेका धर्म, संस्कृति वा अन्य विविधता भन्दा माथि उठेर सम्पूर्ण मानव जातिको कल्याणको कामना गर्ने पवित्र भूमिका रूपमा लुम्बिनी स्थापित भएको छ। यस क्षेत्रको दिव्यता र पवित्रता पुस्तौँसम्म जोगाइराख्न हामी सबैले सचेत र सम्मानसाथ कदम चाल्नुपर्छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी विषयमा मन्त्री पाण्डेले सरकारले यस विषयमा गम्भीर ध्यान दिएको जानकारी दिनुभयो। उहाँका अनुसार भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनेको भए तापनि कार्यान्वयनमा केही चुनौतीहरू रहेका छन्। ती समस्याहरू समाधानका लागि आगामी जेठ ७ गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयीय बैठक बस्ने र आवश्यक निर्णय गरिने विश्वास उहाँले व्यक्त गर्नुभयो।












