तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको “ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा” अभियानले नगरलाई मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत उदाहरणीय बनाएको छ। हरेक महिनाको १ र १५ गते सञ्चालन हुने यस अभियानले स्वच्छता, हरियाली र नागरिक सहभागिताको सफल समायोजन मार्फत दिगो र जनउत्तरदायी नगर शासनको उदाहरण प्रस्तुत गरेको छ। नागरिकहरुको सहभागितामा हुने नियमित नगर सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानले असाधारण सफलता पाएको हो । यस अभियानमा स्थानिय नागरिक, विद्यार्थी, समाजसेवी तथा कर्मचारीहरूको सक्रिय सहभागिताबाट नगर सफाइको उत्कृष्ट अभ्यास भएको छ ।
“ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा” नारासहित तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियान गत जेष्ठ १ गते १४३ औँ श्रृंखला सफलतापूर्वक सम्पन्न भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।नगरपालिका स्थापना भएको केही वर्षमै जनसहभागिता र वातावरणीय चेतनालाई केन्द्रीकृत गर्दै तिलोत्तमाले यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।तिलोत्तमा नगरपालिका वडा नं.१४ की स्थानीय मालती थारु आफू यो परिवतृनको प्रत्यक्ष साक्षी भएको बताइन् । “पहिला सरसफाइ भनेको नगरपालिकाको काम हो भन्ने बुझिन्थ्यो, तर अब यो हाम्रो जिम्मेवारी हो भन्ने महसुस हुन्छ, “उनी भन्छिन् “यो अभियानले हामीलाई आफ्नै नगरप्रति जिम्मेवार बनाएको छ। यस्तै , तिलोत्तमा नगरपालिकाका अर्का स्थानीय डम्बर सिंह रानाले पनि अभियानले समुदायलाई जोड्ने काम गरेको बताए ।“पहिला एक अर्कासँग नमस्ते गर्नेबाहेक केही सरोकार थिएन, अहिले हामी एउटै समूहमा काम गर्छौं। उनले भने, “सरसफाइले हामीलाई नजिक ल्याएको छ।”
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आफूहरुले नागरिकसँग मिलेर नगर परिवर्तन गर्न लागेको बताए । उनले ‘ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा’ अभियान साझा प्रतिबद्धता भएको बताउँदै यसले केवल नगरको स्वरूप बदलिरहेको मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा पनि तिलोत्तमाको पहिचान बनाएको बताए। तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वदेवी चौधरीले टोलटोलमा महिलाहरुले नेतृत्व गरी सरसफाइको संस्कार बालबालिका र समाजमा प्रवाह गरिरहेको बताइन् । उनले यस अभियानलाई महिला नेतृत्वले सार्थक बनाएको बताइन । विद्यालयदेखि वृद्धसम्म सहभागी भएर सरसफाइमा जुट्दा नगरमा सफाई अभियानको बानी बन्न थालेको बताउदै चौधरीले यस अभियान सकारात्मक परिवर्तनको संकेत भएको उल्लेख गरिन् । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको यस अभियान अन्तर्राष्ट्रिय रूपमा समेत चासोको केन्द्र बनेको बताए । उनले ओआईडिपी (Observatory of Participatory Democracy) द्वारा सञ्चालित पुरस्कारको लागि तिलोत्तमा छनोटमा भएको बताउँदै नागरिक सहभागितामा गरिने सफल अभ्यासहरू विश्वभरमै तिलोत्तमा उत्कृष्ट बनेको जानकारी दिए ।
फोहरमैला व्यवस्थापनमा पनि नमूना बन्दै तिलोत्तमा- तिलोत्तमा नगरपालिका फोहरमैला व्यवस्थापनमा देशकै नमुना बनेको छ। जिल्लाका अधिकांश पालिकाहरू फोहोर व्यवस्थापनको चुनौती झेलिरहेका बेला तिलोत्तमाले भने योजनाबद्ध ढंगले फोहर संकलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया अपनाउँदै उदाहरणीय कार्य गरेको छ। यसबाट नगरले राजस्वसमेत आर्जन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए। उनका अनुसार तिलोत्तमाको सफल अभ्यास हेर्नका लागि अन्य पालिकाहरू अध्ययन भ्रमणमा समेत आउने गरेका छन्। “नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्य, नवीन सोच र प्रविधिको प्रयोगमार्फत फोहरमैला व्यवस्थापनलाई सफल बनाएको छ,” अर्यालले भने । नगरप्रमुख रामकृष्ण खाणका अनुसार तिलोत्तमाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP)र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै फोहरको संकलन, प्रशोधन र पुनःप्रयोगलाई प्राथमिकतामा राखेको छ। नगरपालिकामा १७ वडाहरू रहेका छन्। ती वडाहरूलाई तीन तहमा विभाजन गरी फोहोर व्यवस्थापन गरिएको छ। वडा नं. १, ३, ४, ५ र ६ मा ‘सुन्दर नेपाल’ संस्थासँगको सहकार्यमा फोहर व्यवस्थापन भइरहेको छ भने वडा नं. २ मा स्थानीय उपभोक्ता समितिबाट र वडा नं. ७ देखि १७ सम्ममा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाबाट व्यवस्थापन भइरहेको वातावरण शाखा हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताए।
दैनिक झन्डै २० टन फोहोर संकलन हुने तिलोत्तमामा सरसफाइको कार्यमा १२० जना जनशक्ति खटिएका छन्। नगरले प्रत्येक महिनाको १ र १५ गते वडास्तरमा सरसफाइ अभियान सञ्चालन गर्दै नागरिकलाई फोहोर छुट्याउने, संकलन गर्ने र व्यवस्थापनमा सहभागी हुन प्रेरित गर्दै आएको छ । समुदाय, सहकारी, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यमा स्वच्छ र व्यवस्थित नगर निर्माणको सफल उदाहरण बनेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। तिलोत्तमाको यस अभियान देशका अन्य पालिकाहरूका लागि पनि प्रेरणा बन्न पुगेको छ।