साहित्य र सचेतनामार्फत समानताको खोजी

प्रकाशित मिति:

सामाजिक विकास कार्यालयद्धारा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा प्रभातफेरी, अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रमको साथै विभिन्न साहित्यीक सिर्जनाको प्रस्तुतिकरणबाट विभेदको अन्त्य गर्दै समाजिक न्याय र समानताको लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको आँधीखोला गाउँपालिका वडा नं. २ मा सम्पन्न उक्त कार्यक्रमा बोल्दै प्रमुख अतिथि आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले उत्पिडित वर्गको पक्षमा आँधीखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, वडा अध्यक्ष कमल प्रसाद पौडेल र सहभागिको तर्फबाट शर्मिला बस्यालले शुभकामना मन्त्वय दिनु भएको थियो । चिलाउनेभाटी बजार परिक्रमा गरी भएको प्रभातफेरी कार्यक्रम पश्चात् सहभागिहरुसँग अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रममा दलित समूदायका नागरिकहरुको घटना दर्ता र नागरिकता प्राप्तिको सवाल र जिल्लाका विभेदका घटना र अन्य कानून सवालमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सहजिकरण गर्नु भएको थियो ।

त्यस्तै समसामयिक राष्ट्रिय विभेदका घटना, दलित समुदायका अधिकार, छुवाछुत तथा भेदभावको कानूनी उपचार र सामाजिक विकास कार्यालय स्याङ्जाले दलित समूदायको लागि गरेका कामबारे सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सहजिकरण गर्नु भएको थियो ।कार्यक्रममा प्रधुम्न पनेरु माविकी शिक्षिका शर्मिला बस्यालले सचेतनामूलक गीतमा नृत्य तथा विद्यार्थीहरु शिखा सुनार, विपासा वि.क.,तथा सेपत सिरानचौर माविका छात्रा आकृति वि.क. र प्रकृति सुनार ले आफ्नो कविता र गीत प्रस्तुत गरेका थिए ।आँधीखोला गाउँपालिका वडा नं. २ को समन्वयमा सम्पन्न कार्यक्रमा सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षता र सञ्चालन सञ्चारकर्मी विक्रम संवतले गर्नु भएको थियो । नेपालमा २०६३ साल जेठ २१ गतेको तत्कालीन व्यवस्थापिका संसदले “छुवाछुतमुक्त राष्ट्र” घोषणाको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।