लुम्बिनी केबलकार तेस्रो वर्षमा , भारतीय पर्यटक तेब्बरले बृद्धि

प्रकाशित मिति:

बुटवल । लुम्बिनी केबलकार लि. औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र बसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कूल पर्यटक मध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले बृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झण्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ ।

दशकौं वर्र्षसम्म सुनसान पाल्पाको बसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा रहेको डांडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन सहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । २९ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद सुनार, ऋषि भण्डारी लगायतले बुटवलबाट बसन्तपुर जोड्ने गरी केबलकार सञ्चालनको परिकल्पना गरी करिब सय रोपनी जग्गा खरिद गरेका थिए ।
६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लिई शुरु गरेको २ वर्षमै केबलकार सपना सार्थक भयो । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाईपुनःनिर्माण गरी नयां बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।
कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउंछन् ।

केबलकारले जन्मदिनमा निशुल्क यात्रा, हरेक महिनाको १ गते सांझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासंग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए ।
बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम,बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको घिमिरेले बताए ।अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउने देखि विवाह गर्ने र म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले सुनाए ।सहित विभिन्न व्यवसायिक संघसंस्थाहरुसंग छुट सम्झौता गरेर बजार प्रवद्र्धन गरिरहेको छ ।केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर वापत दिएको छ । यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।
अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।
केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए । केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ ।