
बर्दघाटको निति तथा कार्यक्रम सार्वजनिक, व्यवस्थाको बिरोधिलाई कामले जवाफ दिनु पर्छ- ऊर्जा मन्त्री खड्का
प्रकाश न्यौपाने
जेष्ठ २६ गते
नवलपरासी । नेपाल सरकारका उर्जा मन्त्री दिपक खड्काले अहिले व्यवस्थामाथी आक्रमण भएको बताउनु भयो । ” केहिले अहिले योजना नै बनाएर व्यवस्थामाथी प्रहार गरेका छ्न । तिनिहरुलाई अहिलेका जनप्रतिनिधिले कामले जवाफ दिनु पर्छ ।” मन्त्री खड्काले भन्नु भयो । लोकतान्त्रिक व्यवस्थाको सम्मान गर्दै काममार्फत उत्तर दिनु पर्ने आवश्यकता औंल्याउनु भयो । “नकारात्मक प्रचारप्रसारलाई प्रतिकार गर्ने सबैभन्दा राम्रो उपाय भनेको परिणाममुखी काम हो,” मन्त्री खड्काले भन्नु भयो ।
सोमबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको १६औं नगरसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले योजनाहरु समयमै सम्पन्न गर्न स्थानीय तहलाई आग्रह गर्नु भयो । मन्त्री खड्काले हाल नगरपालिकाले बनाएको निति तथा कार्यक्रम र बजेटलाई योजनाबद्ध ढंगले सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाले चालु खर्चभन्दा पुँजीगत खर्चमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “बेरुजु घटाउने होइन, बेरुजु नराख्ने काम गर्नुपर्छ।”
कार्यक्रममा मन्त्री खड्काले राम्रा काम गर्ने जनप्रतिनिधि तथा कर्मचारीलाई पुरस्कार र कर्तव्यमा चुक्नेहरुलाई दण्ड दिनुपर्ने स्पष्ट धारणा व्यक्त गर्नु भयो । “विकास निर्माणमा ढिलासुस्ती, अनियमितता र बेथितिलाई कुनै हालतमा स्वीकार्न सकिन्न,” उहाले भन्नू भयो ।
नगर सभामा बोल्दै पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विनोद चौधरीले बर्दघाटको विकास योजनाहरू सराहनीय रहेको बताउनु भयो । “विकासमा झगडा गर्न होइन, सबै मिलेर एकरूपताका साथ अगाडि बढ्न आवश्यक छ,” सांसद चौधरीले भन्नु भयो । उहाले बर्दघाट जस्तो सम्भावनायुक्त नगरमा सबै दल, सरोकारवाला र जनप्रतिनिधिहरूको सहकार्यले मात्र दिगो विकास सम्भव हुने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बिस्वप्रेम पाठकले राष्ट्रसेवकहरूको सम्मान गर्दै नगर समृद्ध बनाउन सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनु भयो । उहाले कर प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्नेमा जोड दिंदै भन्नु भयो, “स्थानीय तह भनेको जनताको जीवनस्तर सुधारको आधार हो, त्यसैले कामको थालनी त्यहीँबाट गर्नुपर्छ।” पाठकले साना योजना उपभोक्ता समितिमार्फत गर्दा जनताको श्रम प्रत्यक्ष जोडिनु आवश्यक रहेको बताउनु भयो ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ निति तथा कार्यक्रम सार्वजनिक गरिएको बताउनु भयो । उद्योग क्षेत्रको बिकास, कला साहित्य, सहकारी खानेपानी, वन तथा वातावरण, महिला बालबालिका तथा जेष्ठ नागरिक, खेलकुद, युवा रोजगार, दिगो बिकास सार्वजनिक सम्पतीको सरक्षण जस्ता बिषयलाइ समेटिएको छ ।
कार्यक्रममा बोल्दै पूर्व नगरप्रमुख धिरज शर्मा बस्यालले चालू नीति तथा कार्यक्रम प्रशंसनीय रहेको बताउनु भयो । विशेष गरी शिक्षा क्षेत्र सुधारतर्फ उठाइएका कदम सराहनीय भएको उल्लेख गर्दै उनले भन्नु भयो , “केही व्यक्तिको कोठे छलफलले होइन, कानुन अनुसार शिक्षकको सरुवा हुनुपर्छ।” उहाले बालमैत्री नगरका अवधारणा, नमूना विद्यालयको कार्यान्वयन र नीति अनुसार बजेट विनियोजन हुनुपर्नेमा पनि जोड दिनु भयो ।
नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय र पूर्व उपप्रमुख मायादेवी पौडेल दुवैले बोल्दै नीति तथा कार्यक्रम उत्कृष्ट रहेको र सोही अनुसार बजेट आउने र नगर अगाडि बढ्नेमा उल्लेख गर्नु भयो ।
नगर सभाको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान समेत गरिएको छ। यसले प्रशासनिक सेवा प्रवाहमा थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।