तारेकेश्वरमा सञ्चारकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न, पत्रकार आचारसंहितामा प्रशिक्षण

प्रकाशित मिति:

तारेकेश्वर, काठमाडौं। तारेकेश्वर नगरपालिकाको आयोजना तथा सहजीकरणमा सञ्चारकर्मी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा पत्रकार सन्तराम विडारीले पत्रकार आचारसंहिता विषयमा प्रशिक्षण दिएका थिए। उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व र नीतिगत अनुशासनको महत्वबारे सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा तारेकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनले सञ्चारकर्मीहरू लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै भने, “सूचनाको पहुँच, पारदर्शिता र जवाफदेहिताको सुदृढीकरणमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण छ। यस्ता कार्यक्रमहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु।”

यस अवसरमा नगरपालिकाका प्रशासकीय प्रमुख ईश्वरप्रसाद आचार्य, नगर प्रवक्ता राधाकृष्ण खड्गी लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्ता अभिमुखिकरण कार्यक्रमले पेशागत क्षमताको विकासमा सहयोग पुग्ने बताउँदै निरन्तरता दिन आग्रह गरेका थिए। तारेकेश्वर नगरपालिकाले आगामी दिनमा पनि सञ्चारकर्मी लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।