बुटवल उपमहानगरका नगर प्रहरी मानव सेवामा पनि सक्रिय

प्रकाशित मिति:

एलिना आचार्य  बुटवल । बुटवलको भिडभाड र ब्यस्त सडकमा पछिल्लो समय हरीयो बर्दीमा देखिन्छन् नगर प्रहरीहरु । प्रायः नेपाली समाजमा प्रहरी भन्ने बित्तिकै त्रासदी चित्रण मानसपटलमा आउँछ । बालक जिवनबाट नै हामीले गृहकार्य नगर्दा होस अथवा आमाबुबाले भनेको आर्दश नमान्दाको क्षण होस्, नहुने काम पनि सहजै गराउन, यसो नगरे प्रहरी बोलाइदिन्छु भन्यो भने सहजै मान्न बालमनोविज्ञानबाट हामी सबै परिचित छौ । प्रायः मानिसहरुका लागि नगर प्रहरीको चित्रण पनि त्यही होला, अझ सडक पेटीमा व्यापार गर्ने, दर्ता बिना ईरिक्सा संचालन गर्ने अथवा भनौ नियम विपरीत कार्य गर्नेहरुका लागि नगर प्रहरी भन्ना साथ डर र त्रास आउन सक्छ । कसैका लागि फिल्मी शैलीमा आएर सडक पेटीका व्यापारीहरुको गाँस, बाँस र कपास नै तहसनहस पार्ने दानवको रुपमा पनि चित्रण गरेका हुन्छन् । तर के नगर प्रहरीको कार्य क्षेत्र यती मात्र छ त ? स्थानीय सरकार आइसकेपछि प्रत्येक स्थानीय तहमा नगर क्षेत्रमा परिचालन गर्न नगर प्रहरी गठन गरि सक्रिय भएको देखिन्छ । त्यस्मा पनि बुटवल उपमहानगर प्रहरीको परिचय ठेला व्यवसायीलाई सास्ती दिनेमा मात्र सिमित नभएको देखिएको छ । बुटवल उपमहानगरपालिकामा १ जना ईन्सिपेक्टरको कमान्डमा ४ हवल्दार ७ महिला जवान र १५ पुरुष जवान गरी जम्मा २७ जना नगर प्रहरीहरु रहेका छन् । बुटवल उपमहानगरपालिकाले नगर प्रहरीको परिचालन हाटबजार व्यवस्थापन, सडक पेटी व्यवस्थापन, नदी जन्य पदार्थ उत्खनन नियन्त्रण, ई रिक्सा व्यवस्थापन, दर्ता नभएका ई रिक्साहरुलाई व्यवस्थित रुपमा दर्ता गर्न परिचालन गरेको छ । पछिल्लो समय उपमहानगरपालिकाको राजस्व संकलनमा पनि नगर प्रहरीको सक्रिया भूमिका रहदै आएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेका अनुसार गत आर्थिक वर्षमा राजस्व संकलनको अवस्था ४२ करोड रहेको यस आर्थिक वर्षमा ६२ करोड सम्म राजस्व संकलन गर्न सक्षम भएको बताए । प्रमुखका अनुसार सम्पूर्ण रुपमा राजस्व संकलनमा नगर प्रहरीको भूमिका प्रमुख रहेको बताए । प्रमुख पाण्डेका अनुसार नगर प्रहरी कै परिचालनमा नगरका सडक पेटीहरु व्यस्थित बन्न सम्भव भएको जानकारी दिए । उनले भने—राजस्व संकलन भएपछि त्यही राजस्व मार्फत हामीले जनतालाई सेवा दिन सक्षम हुनेछौ ।

सामाजिक कार्यमा पनि सक्रिय नगर प्रहरी
बुटवल बजार आफैमा व्यस्त सहर हो । त्यो भन्दा बढी व्यस्त यहाँका सडकहरु हुन्छन् । लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मै छ । बुढ्यौली हातले लठ्ठी समाउँदै तिब्र गतिमा सडकमा सवारी गुडिरहँदा बाटो पार गर्नुपर्ने संघर्षमा केहीका ध्यान जालान तर प्रायः आफ्नै दुनियामा व्यस्त हुन्छन् । तर त्यतीबेला नगर प्रहरीले बुढ्यौली हातलाई सहारा दिदै बाटो पार पनि गराइरहेका छन् । तर ति चर्चाका विषय कहिल्यै भएनन् ।

विपद् व्यवस्थापनमा नगर प्रहरी
बुटवलको अस्पताल लाइनदेखि ट्राफिकचोक र अमरपथदेखि हाटबजार लाइनसम्म नगर प्रहरीहरु सेवामा तैनाथ हुनेगरेका छन् । नगर बजारक्षेत्रको सडक छेकेर ठेला गाडी राख्ने, डोको, नाङग्लो पसल राख्ने व्यापारिहरु विरुद्ध उनीहरुका सामान उठाउने र फुटपाथ खाली गर्ने काममा नगर प्रहरी खटिरहेका हुन्छन् । त्यो सँगै पहिरो अति जोखिममा रहेको बुटवलका स्थानीयहरुको उद्धारमा पनि नगर प्रहरी सक्रिय देखिएको छ । वर्षेनी दर्जोनौको संख्यामा बाढी र पहिरोबाट प्रभावित स्थानीयलाई नगर प्रहरीले उद्धारको काम गर्दै आएको छ ।
सडक पेटीमा बल प्रयोग गर्नु रहर होइनः ईन्सपेक्टर पाण्डे
सडकमा रहेका साना व्यपारीहरुलाई जबरजस्ती गरेर हटाउन हाम्रो पनि रहर नभएको बुटवल उपमहानगरपालिकाका प्रहरी निरीक्षक जयश्वर पाण्डेले बताए । पाण्डेले भने, “सडक पेटीमा रहेको व्यापारीहरुका लागि भनेर हामीले माइक मार्फत र विभिन्न माध्यमबाट सूचना जारी गर्छौं तर उहाँहरुले नमानेका कारण हामी सडक पेटीमा अव्यवस्थित रुपले व्यापार गर्नेहरुलाई नियन्त्रणमा लिन बाध्य हुन्छौ । तर हाम्रो कार्यक्षेत्र यतीमा मात्र सिमित छैन् । हामीले बुटवल उपमहानगरभित्र रहेका मठ मन्दिर तथा पाटी सफा गर्ने , उपमहानगर भित्रका चोकमा ट्राफिक प्रहरीलाई सहयोग गर्ने, नदिजन्य पर्दाथको चोरी निकासि हुन नदिन दिन रात निगरानि गर्ने, र राजस्व संकलनमा पनि नगर प्रहरी खटीएका छौ। बुटवल उपमहानगरपालिकालाई सुरक्षित, र व्यवस्थित बनाउनका लागि खटेका नगर प्रहरीको काममा सहजता ल्याउन हरेक वडामा ठेला दर्ता गर्ने र दर्ता भएका ठेलाको एउटै रङ बनाउने प्रयास भइरहेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए । उनले भने, “बुटवलमा सबैभन्दा धेरै समस्या छ, सार्वजनिक सडक क्षेत्रको अतिक्रमण र व्यस्थापन चुनौति पूर्ण रहेको छ । कतिपय अवस्थामाविकास निर्माणका कुनै काम थाल्यो कि अतिक्रमणले समस्या निम्त्याउछ सडक क्षेत्रमा भएका भौतिक पूर्वाधार हटाउने काममा खट्ने पनि नगर प्रहरी नै हुन् । यससँगै मदिराजन्य पदार्थका विज्ञापन, अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड हटाउने, फुटपाथलाई व्यापार निषेधित क्षेत्र बनाउने काममा सक्रिय हुँदा कतिपय अवस्थामा प्रहरीमाथि नै आक्रमण समेत भइरहेका छन् ।
नगर प्रहरी आलोपालोमा शनिबार र विदाका दिन पनि खटिरहेका छन् । नगरप्रहरी प्रमुख प्रहरी निरीक्षक जागेश्वर पाण्डे नगर प्रहरी बुटवल बासीको हरेक समस्या समाधान गर्ने साथी बनेको बताए । नगर प्रहरीको कामबाट अरू नगरका प्रहरीहरू पनि प्रभावित होऊन् भनेर ट्राफिक व्यवस्थापन, शहरको सौन्दर्य बढाउने, सामाजिक सेवा भावका काम लगायत विभिन्न काम गरेको उनले बताए ।
यसरी सुरु भयो नगरप्रहरीको गठन बुटवलमा रहेको प्रहरी तालिम केन्द्र मार्फत पहिलो पटक २०७५ भदौमा नगर प्रहरी भर्ना गरी विशेष तालिम सञ्चालन गरेको थियो । स्थानीय सरकारले प्रहरी तालिम केन्द्रमार्फत यसप्रकारको तालिम सञ्चालन गरेको नेपालमै पहिलो रहेको थियो । तत्कालिन लुम्बिनी प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिने १६ जना थिए । उनीहरु एक समारोहका बीच प्रहरी तालिम केन्द्रमा दिक्षित समेत भएका थिए । नगर प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक–१, नगर प्रहरी हवल्दार–३ र नगर प्रहरी जवान १२ जनाले २५ दिनसम्म आवासीय रुपमै विभिन्न तालिम लिएका थिए । उनीहरुलाई नगर प्रहरीहरुलाई प्रमाणपत्र र दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । नगर प्रहरीलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरु, कार्यालय सुरक्षा विधि, सुरक्षा परिचय प्रकार, महत्व र ध्यान दिनुपर्ने कुराहरु, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्यांकनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा तालिम दिइएको थियो । उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नी नियन्त्रण र सरसफाई तथा फोहर नियन्त्रण व्यवस्थाका बारेमा विशेष तालिम दिइएको थियो ।

जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा समेत नगर प्रहरीले तालिम लिएका थिए । बुटवल उपमहानगरपालिकाले नगरप्रहरीका लागि बनाएको कार्यविधि २०७६ अनुसार नगर प्रहरीको काम, कर्तव्य नगर प्रहरीको काम कर्तव्य तोकिएको छ ः
नगर प्रहरीको काम कर्तव्य र अधिकार
(क) सार्वजनिक आवागमनमा बाधा पुरÞ्याई राखेका निर्माण सामाग्री पसल, व्यवसाय आदिबाट भएको अवरोध तत्काल हटाउन लगाउने। आफै हटाउन नमानेमा हटाई त्यसरी हटाउत्त लागेको खर्च सम्बन्धित व्यक्तिबाट असूल उपर गर्न शाखामा पेश गर्ने ।
(ख) उप–महानगर क्षेत्रभित्र दैनिक उत्पादन हुने फोहरमैला निर्धारित समयमा निर्धारित स्थानमा राख्न लगाउने र सो कार्यमा सहयोग नगर्ने व्यक्ति घरधनि वा संघ संस्थालाई कानून बमोजिम कारवाही गर्न पेश गर्ने ।
(ग) सार्वजनिक जग्गा, बाटो, मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी मिची कसैले घर कम्पाउण्ड टहरा वा त्यस्तै अन्य निर्माण कार्य गरेको अथवा व्यक्तिगत रुपले उपभोग गरेको छ, छैन निरन्तर अनुगमन गर्ने। कसैले त्यस्तो काम गरेको देखिएमा निर्माण कार्य भए रोक्का गरी निर्णय गर्ने अधिकारी समक्ष प्रतिवेदन पेश गर्ने । भत्काउने आदेश भएमा भत्काउन प्रक्रिया अघि बढाउने ।
(घ) उप–महानगर क्षेत्रमा भवन निर्माण कार्य गरेको देखिएमा नक्सापास भए नभएको बुझि विना अनुमति भवन निर्माण गरेको पाइए सो को प्रतिवेदन सिधै नक्सापास शाखा प्रमुख समक्ष पेश गर्ने । सो को एक प्रति नगर प्रहरी परिचालन शाखामा समेत दिने ।
(ङ) छाडा पशु व्यवस्थापन गर्ने, गराउने कार्यमा सहयोग गर्ने ।
(च) स्वास्थ्यका लागि हानिकारक चिज तथा सडेगलेको खाद्य पदार्थ, माछा मासु आदि विक्री वितरण गरेको पाइएमा अनुगमन शाखामा तत्काल जानकारी गराउने ।
(छ) छतको पानी कसैले सडकमा सिधै खसालेको पाइएमा तत्काल बन्द गराउने र त्यस्तो पाइप काटिदिने ।
(ज) खतरा उत्पन्न हुने सडक किनारका रुखहरु नियमानुसारको प्रक्रिया पुर्याई काट्न लगाउने । जोखिमपूर्ण घर पर्खाल भए सोको लिखित आदेश लिई आदेश बमोजिम गर्ने ।
(झ) बडा कार्यालय टोल विकास समिति तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा सरसफाई, सुरक्षा र सामाजिक विकृति हटाउने कार्य गर्ने गराउने ।
(ञ) उप–महानगर, समिति, उपसमिति, महाशाखा तथा आयोजनाहरुबाट लागू हुने नीति, निर्णय, नियम र कानून कार्यान्वयन गर्न सहजिकरण गर्ने ।
(ट) नगरको सुव्यवस्था कायम गर्ने, उप–महानगरपालिकाको चल, अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेसिन, उपकरण आदिको सुरक्षा गर्ने ।
(ठ) ईजाजत विना पेशा, व्यवसाय गरेको फेला परेमा पेशा व्यवसायको दर्ता÷नवीकरण गर्न सम्बन्धित व्यक्तिलाइ अनुरोध गर्ने र सो को जानाकारी राजश्व प्रशासन शाखामा समेत गराउने ।
(ड) बुटवल उप–महानगर क्षेत्रमा नगरको अनुमति विना भित्ते लेखन, पोल व्यानर, क्रस व्यानर र विज्ञापन नीतिले निषेध गरेको विज्ञापन प्रचारप्रसार सामाग्री टाँसेको पाइएमा तत्काल शाखा प्रमुखलाई प्रतिवेदन दिने र प्राप्त निर्देशन बमोजिम उपयुक्त कारवाही गर्ने ।
(ढ) विना ईजाजत व्यानर, होडिङ्ग वोर्ड, ग्लोबोर्ड, नियोनसाईन लगायतका अन्य विज्ञापन सामाग्री राखेको पाईएमा तत्काल शाखा प्रमुखलाई प्रतिवेदन दिने र प्राप्त निर्देशन बमोजिम उपयुक्त कारवाही गर्ने ।
(ण) विपद परेको अवस्थामा उद्धार तथा राहत कार्यमा सहयोग गर्ने । नदीजन्य पदार्थको अनुमति वेगर संकलन उत्खनन गरेको पाइएमा यस्तो कार्यमा संलग्न थालो पक्राउ गरी तथा साधन सहित नगरमा ल्याउने ।
(त) सभा सम्मेलनको व्यवस्थापनमा सहयोग गर्ने ।
(थ) कार्यालय परिसरमा हुने अनावश्यक भिड नियन्त्रण गर्ने ।
(द) ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गर्ने ।
(ध) वडा कार्यालयहरुबाट नगर प्रहरीको माग भई आएमा सम्बन्धित वडाका वडा अध्यक्षहरु सँग समन्वय गरी परिचालन हुने व्यवस्थापन मिलाउने ।
(न) कार्यालयले तोकेको अन्य काम गर्ने गराउने ।
कुनै पनि विकासको काम स्थानीयको सहकार्य बिना सम्भव छैन त्यस कारणले गर्दा नगर क्षेत्रको विकासका काममा स्थानीयले नगर प्रहरी सँगको सहकार्यमा काम गर्नुपर्ने देखिएको छ । जस्का कारणले गर्दा बुटवल उपमहानगरपालिका देशकै नमुना र सुन्दर सहरको रुपमा विकास हुनेछ । शहर सुन्दर आकर्षक र ब्यबस्थित बनाउन नगर प्रहरीको भुमिका महत्वपुर्ण भनाई स्थानिय बुद्धिजिवीहरुको छ । (संचारिका फिचर)