बुटवल । लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा घोडचढी शुरु भएको छ । घोडचढी सेवाको केबलकारका सञ्चालक लक्ष्मण गौतमले उद्घाटन गरेका छन् । पर्यटकलाई नयां नयां सुविधा दिने उद्देश्यले घोडचढी सेवा शुरु गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए । केबलकारको माथिल्लो स्टेशन भवन परिसरबाट कामाख्यादेवी मन्दिर परिसरसम्मको एकतर्फी दुई सय रुपैयां र दुईतर्फी ४ सय रुपैयां शुल्क कायम गरिएको व्यवस्थापक घिमिरेले बताए । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, सय वर्षदेखि पुजा हुंदै आएको दुर्गा माता मन्दिर संगै जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना छन् । यी पर्यटकीय पुर्वाधारले केबलकार सञ्चालनको दुई वर्षमै बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले रुपन्देही र पाल्पालाई जोडेको छ । तल्लो स्टेशनबाट केबलकार चढेको १२ मिनेटमै बसन्तपुर पुग्न सकिन्छ ।समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा रहेको बसन्तपुरमा स्वच्छ , शान्त र रमणीय वातावरण छ ।
बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि जुनसुकै मौसममा रोजाइको थलो बनेको छ ।
अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउने देखि विवाह गर्ने र म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।केबलकारले जन्मदिनमा निशुल्क यात्रा, हरेक महिनाको १ गते सांझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासंग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको सैंजूले बताए ।