बुटवल उपमहानगरको शैक्षिक क्रान्ति – सीप, संस्कार र स्वरोजगारमूलक शिक्षामा ऐतिहासिक लगानी

प्रकाशित मिति:

सबलडेक्स – नेपालको शैक्षिक विकासक्रम लामो समयदेखि परम्परागत र किताबी ज्ञानमा सीमित रहँदै आएको छ। जीवनसँग प्रत्यक्ष सम्बन्ध नभएको, प्रमाणपत्र केन्द्रित, र बेरोजगारीलाई झन गहिर्याउने खालको शिक्षाले सिंगो पुस्ता कुन्ठित हुँदै आएको यथार्थ नेपाली समाजले भोगिरहेको छ। यिनै समस्या र विडम्बनाहरूलाई चुनौती दिँदै बुटवल उपमहानगरपालिका अहिले नेपालकै शैक्षिक नक्सामा एउटा असाधारण उदाहरणका रूपमा उभिन थालेको छ। सीप र संस्कारसहितको स्वरोजगारमूलक शिक्षाू भन्ने मूल नारालाई व्यवहारमा रूपान्तरण गर्ने साहसिक निर्णय गर्दै बुटवलले शिक्षालाई केवल डिग्री हासिल गर्ने प्रक्रिया हैन, जीवन निर्माणको आधार बनाउने कार्यनीति अघि सारेको छ। संघीय राजधानी काठमाडौँपछिको सबैभन्दा तीव्रगतिमा बढिरहेको शैक्षिक केन्द्रका रूपमा बुटवलले आफैंलाई पुनर्परिभाषित गर्दैछ, जहाँ अब विद्यालय केवल पढ्न जानेलाई होईन, बाँच्न सिक्नेलाई केन्द्रित गरिने छ।

नगर प्रमुख खेलराज पाण्डेयको अगुवाइमा उपमहानगरले शिक्षा क्षेत्रका लागि जुन रणनीतिक ढंगले नीति तथा कार्यक्रमहरू तयार गरेको छ, त्यो समग्र शैक्षिक नीति निर्माणमै नयाँ दृष्टिकोणको संकेत हो। शिक्षालाई सीप, संस्कार र स्वावलम्बनसँग गाँस्ने बुटवलको नीति केवल स्थानीय विकासका लागि मात्र होइन, राष्ट्रिय स्तरको उदाहरणका रूपमा उदाउँदैछ। उनका अनुसार कठपुतलीझैं परीक्षा पास गर्ने तर जीवनका साधारण समस्यासँग जुझ्न नसक्ने युवाशक्ति मुलुकको विकासका लागि बोझ हुन सक्छ। यसैले अब बुटवलले शिक्षालाई रोजगारीसँग, प्रविधिसँग, व्यवहारिक क्षमतासँग र सामाजिक संस्कारसँग समेटेर अघि बढाइरहेको छ।

बुटवलको यो नीति केवल शब्दमा छैन, कार्यान्वयनमै आधारित छ। आर्थिक वर्ष २०८२र८३ को बजेटमा १० करोड रुपैयाँभन्दा बढी शिक्षा क्षेत्रमा विनियोजन गरिनु यसको स्पष्ट प्रमाण हो। सामुदायिक विद्यालयहरूको न्यूनतम भौतिक मापदण्डमा सुधार गर्न ६ करोड, प्राविधिक शिक्षालाई विस्तार गर्न बुटवल टेक्निकल इन्स्टिच्युटलाई २ करोड, डिजिटल शिक्षा प्रवर्धन गर्न १ करोड, स्थानीय पाठ्यक्रम विकास र संस्कृतिरभाषा संरक्षणमा ७० लाख, बालिका शिक्षाको लागि ५० लाख, विपन्न बालबालिकाको छात्रवृत्तिका लागि ३० लाख र प्यारामेडिकल तालिमलाई विस्तार गर्न २५ लाख रुपैयाँ विनियोजन गरिनु, शिक्षालाई आधारभूत सेवाभन्दा माथि उठाएर सामाजिक रूपान्तरणको साधन बनाउने दृष्टिकोणको उपज हो।

उपमहानगरको यो कदम ‘स्थानीय सरकारको समृद्ध भूमिका’ को उत्कृष्ट उदाहरण हो। संविधानले स्थानीय तहलाई शिक्षाको समन्वय, व्यवस्थापन र प्रवर्द्धनको अधिकार दिएको छ। तर धेरैजसो पालिकाले अझै पनि शिक्षालाई प्राथमिकताको विषय बनाएका छैनन्। बुटवल त्यसको अपवाद बनेको छ। नगर उपप्रमुख सावित्रादेवी अर्यालले भनेझैं, “अब पढाइसँगै काम सिकाउने प्रणाली लागू नगरी बेरोजगारीको दुष्चक्र तोड्न सकिँदैन। बुटवलले अगाडि सारेका ट्राफिक व्यवस्थापन, इन्टरन्सिप कार्यक्रम, डिजिटल पोर्टल र स्थानअनुसार फरक पठनपाठनको प्रयोगले बुटवलका सामुदायिक विद्यालयलाई सरकारी होइन गुणस्तरीय बनाउने दिशातर्फ धकेल्ने देखिन्छ।बुटवलले पाठ्यक्रमको स्थानीयकरणमा पनि गम्भीरता देखाएको छ। अहिले अधिकांश विद्यालयहरूमा लागू पाठ्यक्रम सबै क्षेत्र, वर्ग र जातीय सन्दर्भका लागि समान छन्। यिनले स्थानीय भाषा, संस्कृति र सामाजिक व्यवहार समेट्न नसक्दा शिक्षाले समुदायमा प्रभाव पार्न सकेको थिएन। बुटवलले अब आफ्ना पाठ्यक्रममा शहरको सांस्कृतिक पहिचान, जातीय समावेशीपन, स्थानीय आवश्यकताअनुसार परिमार्जन गरिने नीति लिएको छ, जुन समावेशी शिक्षाको महत्वपूर्ण आधार हो।

शैक्षिक पहुँच सबैका लागि सुनिश्चित गर्न पालिकाले अब विपन्न, अनाथ, दलित तथा असहाय बालबालिकालाई विद्यालयसम्म ल्याउने जिम्मेवारी आफूले लिएको घोषणा गर्दै अभिभावकत्व ग्रहणको नीति अघि सारेको छ। प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार, “शिक्षा पैसाले मात्र किनिने वस्तु हैन — राज्यको ग्यारेन्टी हुनुपर्छ।” यस सोचअनुसार, अब कापी–कलम, पोशाक वा भर्ना शुल्कको अभावमा कोही पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुने छैन।सीपमूलक शिक्षाको क्षेत्रमा गरिएको अर्को महत्त्वपूर्ण निर्णय भनेको बुटवल टेक्निकल इन्स्टिच्युट को पुनर्संरचना हो। वर्षौँदेखि अलपत्र परेको यो संस्थालाई २ करोडको लगानीमा नगर मातहत ल्याएर जीवनोपयोगी तालिमहरू दिइने योजना छ — जस्तै इलेक्ट्रिसियन, प्लम्बिङ, ट्र्याक्टर मर्मत, मोटरसाइकल मिस्त्री, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, बेसिक मेडिकल सेवा, निर्माण सीप, आदि। यस्ता सीपले शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्नेछ, जुन आजको बेरोजगार पुस्तालाई आत्मनिर्भर बनाउने मार्ग हो।

बुटवलमा अहिले ९३ हजार विद्यार्थी छन्, जसमा ६० प्रतिशत अरू जिल्लाबाट आएका छन् भन्ने तथ्यले, यहाँको शिक्षा गुणस्तर, पहुँच र सम्भावना कत्तिको बलियो छ भन्ने देखाउँछ। यसले बुटवललाई ‘शिक्षा पर्यटन’ को नयाँ मोडेल बनाउने सम्भावना पनि खोलिदिएको छ। विद्यार्थीहरू पढ्नमात्र होइन, शहरसँग जीवन सँगै बाँध्ने आधार बनाउँदैछन्।बुटवलको यो प्रयास केवल शहरी शिक्षामा सीमित छैन। उपमहानगरले १९ वटा वडाका दुर्गम, पिछडिएका विद्यालयहरूलाई पनि समेट्ने गरी प्रविधि, सामग्री, पाठ्यपुस्तक, प्रशिक्षक शिक्षक तथा निरीक्षण संयन्त्र बलियो बनाएको छ। शिक्षामा देखिने असमानता अन्त्य गर्ने यो प्रयास नै ‘न्यायपूर्ण शिक्षा’ को खाका हो।

आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख सावित्रादेवी अर्यालले “पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं ” भन्ने उद्देश्यका साथ स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक व्यवस्थापनमा खटाउनेलगायतका कार्यक्रममा बजेट व्यवस्था गरेको बताएकी थिइन् । पछिल्लो समय बुटवल शैक्षिक हवको रूपमा विकास हुदै गएको भन्दै उपमेयर अर्यालले नगरका सबै सामुदायिक विद्यालयहरूलाई पूर्ण प्रविधियुक्त बनाउदै डिजिटल लर्निङ पोर्टल कम्प्युटर शिक्षाका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई आवश्यकता अनुसार परिमार्जन गरि छपाई गर्नुका साथै बुटवलको पहिचान,जातीय पहिचान,भाषा,संस्कृति र सांस्कृतिक कार्यक्रम,नैतिक शिक्षा,सरसफाइ सम्बन्धि शिक्षाका लागि ७० लाख, “छोरी पढाऔं,समाज बनाऔं ” कार्यक्रमका लागि ५० लाख, नगर प्रमुख शैक्षिक सुधार कोष मार्फत बिपन्न बर्गका बालबालिकालाई आवश्यक छात्रवृत्ति,पोशाक तथा शैक्षिक सामाग्री बितरणका लागि ३० लाख, सिद्वार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन भएको प्यारामेडिकल तहलाई थप ब्यवस्थित बनाउन २५ लाखसहित शैक्षिक विकासमा करोडौं रकम बिनियोजन गरिएको जानकारी दिइन ।

सामान्यतया नेपालमा शिक्षा भन्नेबित्तिकै ‘सरकारी’ र ‘निजी’ को गहिरो खाडल बनिसकेको छ। तर बुटवल उपमहानगरले सरकारी विद्यालयलाई नै गुणस्तरीय, प्रविधियुक्त, संस्कारयुक्त र प्रयोगात्मक बनाएर त्यो खाडल मेट्ने प्रयत्न गरेको देखिन्छ। यो प्रक्रिया यदि सफल भयो भने निजी स्कुलको महँगो शुल्क तिर्नु पर्ने बाध्यताबाट समेत नागरिकहरू मुक्त हुनेछन्।बुटवलको यो समर्पणले के संकेत गर्छ भने — “शिक्षा भनेको अब डिग्री मात्रै होइन, सोच परिवर्तन, सीप निर्माण, संस्कार निर्माण र रोजगार सिर्जनाको प्लेटफर्म हो।” र यो सोच केवल योजना बनाउने कागजमा सीमित छैन यो बजेटमा छ, कार्यान्वयनमा छ, नेतृत्वको प्रतिबद्धतामा छ, र सामुदायिक सहभागितामा पनि छ।यसरी, बुटवल उपमहानगरपालिकाले सुरु गरेको यो प्रयास केवल एउटा नगरको विकास यात्रा होइन — यो एउटा राष्ट्रिय संवादको सुरुवात हो, जहाँ शिक्षा अब परिवर्तनको इन्धन बन्न सक्नेछ। यदि देशका अन्य पालिकाहरूले पनि यस्तै दृष्टिकोण र प्रतिबद्धताका साथ काम गर्न सके, त्यो दिन टाढा हुनेछैन, जब नेपालका प्रत्येक बालबालिका सीपसहितको शिक्षाबाट सजिएर आफ्नै गाउँघरमै अवसर खोज्ने छन्, र प्रवास हैन, आफ्नो पहिचान निर्माण गर्न अग्रसर हुनेछन्।