नवीन माविमा एसईई उत्कृष्टता: जीपीए ४ ल्याउने विद्यार्थीसहित सबै उत्तीर्णलाई सम्मान

प्रकाशित मिति:

बुटवल। नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, देवीनगरले २०८१ सालको एसईई परीक्षामा जीपीए ४ ल्याउने विद्यार्थीसहित सबै सफल विद्यार्थी र अभिभावकलाई विशेष सम्मान गरेको छ। आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी आर्यन पौडेललाई मुख्यरूपमा सम्मान गरिएको हो, जसले अधिकतम ग्रेड (जीपीए ४.००) प्राप्त गरेका थिए। कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका उप–प्राध्यापक तथा विद्यालयका अभिभावक टेकराज पन्थी, सहायक प्रधानाध्यापक एवं शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मीनारायण चौधरी, भौतिकशास्त्र संयोजक बाबुराम पौडेल, ४ जीपीए ल्याउने आर्यन पौडेल, मेधावी विद्यार्थी निर्माण पन्थी, प्रतिज्ञा चन्द, र नवीन विद्यार्थी क्लबकी सचिव समीक्षा कुँवरले आ–आफ्ना धारणा राखेका थिए।कार्यक्रममा आर्यन पौडेलका बुवा दिलबहादुर पौडेल र आमा कल्पना केसी पौडेलसहित उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

नतिजा विवरण र विद्यालयको सफलता

२०८१ सालको एसईई तथा प्राविधिक एसईई (टिएईई) परीक्षामा विद्यालयबाट २९६ जना विद्यार्थी सहभागी भएका थिए।
तिनीहरूबाट:

जीपीए ३.६०–४.००: ४४ जना

जीपीए ३.२०–३.६०: १०१ जना

जीपीए २.८०–३.२०: ९२ जना

जीपीए २.४०–२.८०: ३८ जना

जीपीए २.००–२.४०: २ जना

समग्रमा २७७ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसअनुसार विद्यालयको उत्तीर्ण प्रतिशत ९४ प्रतिशत रहेको छ। विद्यालयले यो नतिजा जिल्लामै उत्कृष्ट भएको दाबी गरेको छ।