तिलोत्तमामा विपद् व्यवस्थापनसम्बन्धी तालिम

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु भएको छ । नगरभित्रका प्रहरी, अग्नि नियन्त्रक तथा सवारीचालकका लागि आयोजना गरिएको कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका फोकलपर्सन तथा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले विपद् आउनुपूर्व, आएपश्चात अपनाउनुपर्ने उपायका विषयमा सहजीकरण गर्नुभएको थियो ।  उहाँले रुपन्देही र यहाँका स्थानीय तहमा भइरहेको शहरीकरण समेत विपद् निम्त्याउने कारण हुन सक्ने बताउनुभयो । उहाँले तिलोत्तमामा खोलाको जोखिमले वर्षेनी मानिसलाई त्रसित बनाउने भएकाले यसको निदानका लागि र जोखिम निम्तिहाले गर्नुपर्ने कार्यका बारेमा बताउनुभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाले विपद्सम्बन्धी त्यसको समाधानमा खटिएका जनशक्तिले के–के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे प्रस्तुति र कार्यशालामार्फत सन्देश प्रवाह गर्नुभएको थियो ।कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले नगरपालिका विपद्को न्यूनीकरणका लागि हरेक तवरबाट तयार रहेको बताउनुभयो । नगर उपप्रमुख जगेश्वर देवी चौधरीले विपद् भैपरी आउने अवस्था भएकाले त्यससम्बन्धी जनचेतना, सतर्कता र आइहाले अपनाउनुपर्ने सावधानीका बारेमा नगरले बजेट विनियोजन गरी सामग्री खरिद गरी काम गरिरहेको बताउनुभयो । नगर प्रहरी इञ्चार्ज नर प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।