
कान्ति मा.वि. लाई विशुद्ध शैक्षिक उन्नयनको स्थल बनाउन पूर्व अध्यक्षहरुको आग्रह
बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको निर्वाचन असार २१ गते सम्पन्न हुन गईरहेको सन्दर्भमा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु डा.बालकृष्ण चापागाईं, टंक प्रसाद पराजुली र हेमानन्द शर्माले एक प्रेस विज्ञप्ति जारी गरी विद्यालयलाई राजनीतिक दाउपेच र खिचलोबाट मुक्त गराई विशुद्ध शैक्षिक उन्नयनको बाटोमा अगाडि बढाउनु सबैको जिम्मेवारी भएको बताएका छन् ।
कान्ति माध्यमिक विद्यालय राष्ट्रकै गौरवशाली विद्यालय भएको बताउँदै यस विद्यालयमा हुन गईरहेको व्यवस्थापन समितिको निर्वाचनमा विद्यालयको समग्रहितलाई ध्यानमा राखेर व्यवस्थापन समितिका पदाधिकारीको चयन गर्न पूर्व अध्यक्षहरुले अनुरोध गरेका छन् ।
कान्ति माध्यमिक विद्यालयले विशेष उचाई प्राप्त गरेको समयमा को कसको कसरी योगदान रहेको छ ? भन्ने कुरा सम्पूर्ण अभिभावकहरुलाई विदितै भएको भन्दै विद्यालयको आजसम्मको इतिहासमा सर्वसम्मत नेतृत्व चयनको परम्परा रही आएको सन्दर्भमा यस पटक पनि सर्वसम्मत नेतृत्व चयनको पक्षमा हामीले कोशिस गर्दागर्दै पनि यो पटक चुनाव नै हुने स्थिति आएको बताउँदै निर्वाचनमा विद्यालयलाई योगदान दिई आएका र आगामी दिनमा पनि कुशल नेतृत्व गर्न सक्ने टिमलाई छनौट गर्नु आवश्यक भएको बताएका छन् । बुटवलको मुटुमा रहेको कान्ति माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकहरुको रोजाईको केन्द्र बनेको कुरा सर्वविदितै छ भन्दै विद्यालयले विगतदेखि उचाई प्राप्त गर्नुमा रहेको नेतृत्व, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्याथीहरुको भूमिकालाई समेत ध्यानमा राखी विद्यालयलाई सफल नेतृत्व दिन सक्ने टिमलाई विजयी बनाउन अनुरोध गरेका छन् ।