स्थानीय तहमा धूम्रपान नियन्त्रण तथा धूम्रपानरहित नगरपालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम
रुपन्देही, साउन – तिलोत्तमा नगरपालिका वडा नं १६ मा “स्थानीय तहमा धूम्रपान नियन्त्रण तथा धूम्रपानरहित नगरपालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। तपस नेपालको आयोजनामा सम्पन्न यस कार्यक्रममा स्थानीय समुदायका सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका , समुदायका प्रतिनिधिहरू, युवा क्लबका सदस्यहरू, वडा कार्यालयका पदाधिकारीहरू तथा टोल विकास समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई धूम्रपान र सुर्तीजन्य पदार्थका कारण मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव, सार्वजनिक स्थानमा धूम्रपान निषेधको आवश्यकता, तथा नेपाल सरकारद्वारा पारित धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, २०६८ का प्रावधानहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन तपस नेपाल संस्थापक अध्यक्ष अनिता महोत्रा र सदस्य डा। सलोनी झा द्वारा गरिएको थियो।
कार्यक्रममा पछिल्ला समयमा युवावर्गमा तीव्र रूपमा लोकप्रिय बन्दै गएको भेपिङ तथा ई- सिगरेट जस्ता नयाँ प्रविधीयुक्त निकोटिनयुक्त उत्पादनहरूबारे पनि गम्भीर चिन्ता व्यक्त गरियो। तिनले परम्परागत सुर्तीजन्य पदार्थको विकल्पका रूपमा युवा पुस्तालाई लक्षित गरी आकर्षक स्वाद, डिजाइन तथा डिजिटल प्रवर्द्धनका माध्यमबाट विस्तार गरिरहेको तथ्य प्रस्तुत गरियो।साथै, सुर्ती उद्योगद्वारा अपनाइएका युवामैत्री रणनीतिहरू—जस्तै सामाजिक सञ्जालमार्फत् विज्ञापन, प्रभावशाली व्यक्तिहरूको प्रयोग, र लोभलाग्दा प्याकेजिङ—को खुलासा गर्दै यस्तो गतिविधि रोक्न सामूहिक प्रयास आवश्यक भएकोमा सहभागीहरूको ध्यानाकर्षण गराइयो। कार्यक्रमको समापनमा वडा पदाधिकारीहरूको नेतृत्वमा तिलोत्तमा नगरपालिका वडा नं। १६ लाई “धूम्रपानरहित वडा” बनाउने अभियान अघि बढ्नका लागि पहिलो प्रयासस्वरूप वडा कार्यलयका साथै वडाका अन्य सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध सम्बन्धी बोर्ड र स्टिकरहरू राखिएको छ, जसले जनमानसमा स्पष्ट सन्देश पुर्याउने विश्वास गरिएको छ। साथै, सहभागीहरूले विद्यालय स्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै, बालबालिकालाई प्रारम्भिक उमेरबाटै सचेत गराउन सके भविष्यमा उनीहरूले आफू त सुर्तीजन्य पदार्थबाट टाढा रहन सक्ने मात्र होइन, आफ्ना परिवारलाई पनि शिक्षित गर्न सक्ने धारणा राखेका थिए। आगामी दिनहरूमा वडा स्तरका क्रियाकलापसँगै विद्यालयस्तरीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाको प्रतिबद्धता रहेको संस्थाका प्रतिनिधि विनिता काफ्ले बताउनु भयो।









