स्याङ्जा । दुई जिल्लाका सुरक्षा समितिको बैठक स्याङ्जाको गल्याङ १ मालुङ्गामा सम्पन्न भएको छ । स्याङ्जा र पाल्पाका सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सहित सदस्यहरुको सहभागितामा बैठक सम्पन्न भएको हो । स्याङ्जा गण्डकी प्रदेशमा र पाल्पा लुम्बिनी प्रदेशमा पर्ने जिल्ला हुने । स्याङ्जा र पाल्पाको सिमानाका रहेका मालुङ्गामा दुई जिल्लाको सुरक्षा समिति बिच शान्ति सुरक्षा मजबुद बनाउने, नाकामा कडाइ गर्ने र कानूनविपरीतका अवैध गतिविधि रोक्ने मुख्य उद्देश्यले दुई जिल्लाको सुरक्षा समिति बिच छलफल भएको स्याङ्जाका सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल जानकारी दिए ।
शान्ति सुरक्षा, अपराधिक क्रियाकलाप, लागुऔषध, अबैध गिट्टी बालुवा उत्खनन् लगायत अबैध सामाग्री ओसारपसारका बिषयमा गम्भिर रुपमा छलफल गरिएको स्याङ्जाका प्रजिअ अर्यालले बताए । दुई जिल्ला र दुई प्रदेशलाई जोड्ने राम्दीमा निर्माण हुन लागेको पुललाई समयमै सकाउन ठेकेदार कम्पनीलाई निर्देशन दिने काम समेत भएको बताइएको छ ।बिशेषगरी सुरक्षा समितिले नियमित गर्ने गृहकार्य सगै उत्तरबाहिनी क्षेत्रमा हुन लागेको उत्तर गण्डकी महामेलाका बिषयमा छलफल भएको छ । चाडवाडको बेला अनि दुई जिल्लाको सिमानामा हुन लागेको एक महिना लामो उत्तरगण्डकी महामेलामा हुन सक्ने सम्भावित घट्नाक्रमलाई ध्यानाकर्षण गरिएको बताइएको छ ।धार्मिक उत्सव भएकाले छिमेकी मुलुक सगै देशका भिपिआईपीहरुको समेत सहभागिता रहने बिषयलाई मध्यनजर राखेर दुवै जिल्लाले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने गरी अगाडी बढ्ने निर्णय भएको प्रजिअ अर्यालले बताए । उत्तरगण्डकी महामेलामा आउने भक्तजनहरुका लागि सडकको पूर्वाधार, गण्डकीको किनारमा स्नान् गर्ने र स्वास्थ्य संमवेदनाका बिषयमा आयोजक र सुरक्षा समिति बिच पनि समाधानका बिषयमा छलफल भएको छ ।
उत्तरगण्डकी महामेला असोज २१ देखी कात्र्तिक १९ गतेसम्म उत्तरबाहिनी क्षेत्रमा आयोजना हुदैछ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा उत्रर बाहिनी क्षेत्रमा हुन लागेको उत्तरगण्डकी महामेला महोत्सवमा नेपाल सहित विभिन्न देशका धार्मिक गुरुहरुको सहभागिता रहने आयोजक समितिका संयोजक चैतन्य कृष्ण महाराजले जानकारी दिए । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक तोयनारायण सुवेदी सहायक प्रजिअ ऋषिराम सुवेदी सहित नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायत सुरक्षा समितिको बैठकमा सहभागिता रहेको थियो । यता स्याङ्जाबाट सुरक्षा समितिका संयोजक अर्याल सहित प्रहरी प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजारका प्रमुख सहित सुरक्षा समितिको सहभागिता रहेको थियो । बेला– बेलामा जिल्लाको सिमानासगँ जोडिएका जिल्लाहरु बिच अन्तर जिल्ला सुरक्षा बैठक बस्ने प्रचलन छ । स्याङ्जाका पाल्पा, गुल्मी, पर्वत, कास्की र तनहुँ छिमेकी जिल्ला हुन् ।










