आल्मुनीयम ब्यबसायी संघ नेपाल(ALFAN)को लुम्बिनी प्रदेश संघमा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ
लुम्बिनी प्रदेश आल्मुनियम व्यवसायी संघ लुम्बिनी प्रदेश (ALFAN–लुम्बिनी) को विशेष भेला आज रुपन्देही स्थित जैकुटी होटल पौवा मा सम्पन्न भएको छ। प्रदेशभरका आल्मुनियम व्यवसायीहरूको सहभागितामा सम्पन्न उक्त भेलाले अग्रज आल्मुनियम ब्यबसायी हरी कंडेल ज्यूको संरक्षकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
भेलाबाट अनिल खत्री संयोजक, तीर्थराज पोखरेल सह–संयोजक तथा राजेन्द्र बस्याल सचिव चयन हुनुभएको छ। नवगठित तदर्थ समितिले लुम्बिनी प्रदेशका आल्मुनियम व्यवसायीहरूलाई संगठित गर्दै पेशागत हकहितको संरक्षण, व्यवसायिक मर्यादा कायम तथा संघीय संरचनाअनुसार संगठन विस्तार गर्ने उद्देश्य लिएको छ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तेज बहादुर राई प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। उहाँले व्यवसायीहरू संगठित नहुँदा बजार व्यवस्थापन, गुणस्तर नियन्त्रण र व्यवसायिक समस्या समाधानमा कठिनाइ हुने उल्लेख गर्दै ALFAN ले देशभर आल्मुनियम ब्बसायका क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउने दिशामा निरन्तर काम गरिरहेको बताउनुभयो। लुम्बिनी प्रदेशमा तदर्थ समिति गठन हुनु संघ विस्तारको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो।
भेलामा संघका केन्द्रीय महासचिव होम प्रसाद डॉगी लगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले संघको उद्देश्य, आगामी कार्ययोजना, सदस्यता विस्तार, व्यवसायिक तालिम, गुणस्तर मापदण्ड र सरकारी निकायसँग समन्वयका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बुटवल तथा आसपासका आल्मुनियम ब्यबसायलाई संचालन गर्न आबस्यक पर्ने सामग्रीहरु आपूर्तिकर्ता (सप्लायर्स) र फ्याब्रिकेटरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागि व्यवसायीहरूले कच्चा पदार्थको मूल्य अस्थिरता, दक्ष जनशक्तिको अभाव, बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा नीतिगत अस्पष्टताका विषयमा संघले सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
नवगठित तदर्थ समितिले छिट्टै प्रदेशस्तरीय संगठन संरचना विस्तार, सदस्यता वितरण, नियमावली निर्माण तथा अधिवेशनको तयारी गर्ने जनाएको छ। भेलाले लुम्बिनी प्रदेशमा आल्मुनियम व्यवसायलाई संगठित, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै समग्र औद्योगिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।












