असार । विगतका वर्षहरूमा स्याङ्जाका डाँडाकाँडा धुवाँले ढाकिने र वन क्षेत्र डढेलोका कारण राताम्मे बन्ने दृश्य सामान्य जस्तै थियो। तर यस वर्ष भने जिल्लाको वन क्षेत्रमा सुखद परिवर्तन देखिएको छ । वन डढेलोका घटना उल्लेखनीय रूपमा घटेका छन् र अधिकांश वन हरियाली अवस्थामै सुरक्षित रहन सफल भएका छन् ।
डिभिजन वन कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० मा डढेलोका कारण ४९७ दशमलव २ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । तर आर्थिक वर्ष २०८१ मा प्रभावित क्षेत्र घटेर जम्मा २४ हेक्टरमा सीमित भएको छ । चालु वर्षमा समेत आँधिखोला गाउँपालिकाको राम्चे क्षेत्रमा लागेको सामान्य डढेलो बाहेक अन्यत्र ठूलो क्षति नभएको कार्यालयले जनाएको छ ।
यस वर्ष फागुन र चैतको सुख्खा समयमा समेत परेको वर्षाले वन क्षेत्रको आर्द्रता कायम राख्न मद्दत पुगेको छ । साथै डढेलो नियन्त्रणका लागि गरिएका पूर्व तयारी, जनचेतना मूलक कार्यक्रम तथा स्थानीय समुदायको सक्रिय सहभागिताले पनि सकारात्मक परिणाम दिएको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत सन्तोष पोखरेलले बताउनुभयो ।
स्याङ्जाका पाखापखेरामा पतझरका कारण सुक्खापन बढ्ने भए पनि यस वर्ष वन विनाश न्यून हुँदा जिल्लाभर रहेका ५२५ सामुदायिक वन सुरक्षित रहन सफल भएका छन् । वन संरक्षणमा समुदायको बढ्दो चासो र सहभागिताले “हरियो वन, नेपालको धन” भन्ने नारालाई व्यवहारमा उतार्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ ।











