स्याङ्जा, असार १०। स्याङ्जालाई पर्यटकमैत्री जिल्ला बनाउने लक्ष्य सहित जिल्लाको प्रमुख प्रवेशद्वार राम्दीमा पर्यटक स्वागत तथा सुरक्षित पर्यटन सचेतना अभियान सुरु गरिएको छ । अभियान मार्फत स्याङ्जा प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्दै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिएको हो ।
साथै सुरक्षित यात्रा, जिम्मेवार पर्यटन, वातावरण संरक्षण र स्थानीय संस्कृति प्रति सम्मानजनक व्यवहारका विषयमा समेत जानकारी प्रदान गरिएको छ ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले स्याङ्जाको पर्यटन विकासमा अभियान महत्वपूर्ण कदम हुने बताउँदै पर्यटकलाई जिल्ला प्रति सकारात्मक अनुभूति दिलाउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटकको सुरक्षा, सहजता र आतिथ्यलाई प्राथमिकतामा राख्दै जिल्लाको पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्रबहादुर शाहीले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा खण्ड साँघुरो तथा धेरै घुम्ती भएको क्षेत्र भएकाले यात्रु तथा पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक सन्देश प्रवाह गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी शसस्त्र प्रहरी गुल्म वालिङका प्रहरी निरीक्षक दीपेन्द्र पौडेलले सडक सुरक्षा सम्बन्धी जानकारीले पर्यटकको यात्रा थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो ।
अभियानमा सहभागी भारतीय पर्यटकहरूले स्याङ्जा प्रवेशमै गरिएको स्वागत तथा जानकारीमूलक कार्यक्रमले आफूहरूलाई खुसी बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नेपाल भ्रमणका क्रममा आवश्यक जानकारी प्राप्त भएको र यसले यात्रा अझ सहज बनाएको बताएका छन् ।
“सुरक्षित यात्रा, जिम्मेवार पर्यटन र हार्दिक आतिथ्यता सहित स्याङ्जामा स्वागत छ” भन्ने सन्देशसहित सुरु गरिएको अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ ।
उक्त कार्यक्रम गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, ट्राफिक प्रहरी कार्यालय राम्दी तथा अन्य सुरक्षा निकायहरूको सहकार्यमा सञ्चालन गरिएको हो ।












