धान उत्पादन र खाद्य सुरक्षामा जोड दिँदै गल्याङमा सामूहिक रोपाइँ ।

प्रकाशित मिति:

स्याङ्जा, असार १६ ।    जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धिू भन्ने राष्ट्रिय नारा सहित स्याङ्जाको गल्याङ नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

गल्याङ नगरपालिका ११ जिमुहा स्थित इट्टाभट्टा क्षेत्रमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, कृषि प्राविधिक तथा स्थानीय किसानहरूको उल्लेख्य सहभागितामा करिब ३० रोपनी क्षेत्रफलमा सामूहिक धान रोपाइँ गरिएको थियो ।

कार्यक्रमको सुरुवात राष्ट्रिय धान दिवसको नारा सहितको ब्यानर सहित र्‍याली निकालेर गरिएको थियो । त्यसपछि सहभागीहरू खेतमा उत्रिएर सामूहिक रूपमा धान रोपे । जनप्रतिनिधि र कर्मचारी किसानसँगै हिलोमा उत्रिएर श्रममा सहभागी बनेपछि कार्यक्रमले कृषिप्रति सम्मान र श्रमको गरिमालाई थप उजागर गरेको थियो ।

नगरपालिकाले राष्ट्रिय धान दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी किसानसँगै खेतमा श्रम गर्दै कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रोपाइँ महोत्सव आयोजना गरेको जनाएको छ । रोपाइँ सम्पन्न भएपछि सहभागीहरूले परम्परा अनुसार दही चिउरा ग्रहण गर्दै राष्ट्रिय धान दिवस मनाएका थिए ।

कृषि उत्पादन बढाउने, युवा पुस्तालाई कृषि तर्फ आकर्षित गर्ने, किसानको मनोबल उच्च बनाउने तथा जलवायुमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्ने सन्देश सहित कार्यक्रम सम्पन्न भएको गल्याङ नगरपालिकाले जनाएको छ ।