असार १७, स्याङ्जा । कृषिमा परम्परागत हल गोरुको प्रयोगलाई जोगाउँदै किसानलाई यस तर्फ आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने ११५ जना कृषकलाई प्रोत्साहन स्वरूप जनही पाँच हजार रुपैयाँ उपलब्ध गराएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन गरेको ‘कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत ११६ हल गोरुको विवरण सहित आवेदन परेपछि आवश्यक अनुगमन गरी योग्य कृषकको बैंक खातामा अनुदान रकम जम्मा गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले पछिल्ला वर्षहरूमा पावर टिलर जस्ता यान्त्रिक उपकरणको प्रयोग बढ्दै जाँदा हल गोरु पाल्ने किसानको संख्या घट्दो क्रममा रहेको हुदा ग्रामीण क्षेत्रमा इन्धनको सहज उपलब्धता नहुने, यान्त्रिक उपकरण बिग्रँदा मर्मतमा समस्या हुने तथा दक्ष जनशक्तिको अभाव रहने अवस्थालाई ध्यानमा राख्दै हल गोरुको प्रयोगलाई निरन्तरता दिन प्रोत्साहन कार्यक्रम ल्याइएको बताउनुभयो ।
त्यस्तै नगरपालिकाले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । आवेदनका लागि हल गोरुको बिमा गरेको प्रमाण, गोठमा रहेका गोरुको तस्बिर तथा आवश्यक विवरण अनिवार्य सहित प्राप्त आवेदनको स्थलगत अनुगमनपछि मात्रै अनुदान वितरण गरिएको पशु सेवा शाखाका प्राविधिक महादेव बनले जानकारी दिनुभयो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस वर्ष अनुदान प्राप्त गर्न नसकेका हल गोरु पाल्ने कृषकलाई आगामी वर्ष प्राथमिकताका साथ प्रोत्साहन रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
परम्परागत खेती प्रणालीको संरक्षण, पशुपालन प्रवर्द्धन तथा ग्रामीण कृषिलाई थप सशक्त बनाउन यस्तो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।













