स्याङ्जा, असार २८ । युवायुवतीलाई व्यावसायिक सीप प्रदान गर्दै स्वरोजगार र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले गल्याङ नगरपालिकाले सञ्चालन गरेको २० घण्टे अवधिको हलुका सवारी चालक तालिम सम्पन्न भएको छ । छोटो अवधिको भए पनि व्यवहारिक र गुणस्तरीय प्रशिक्षणका कारण तालिम प्रति युवाको उल्लेखनीय आकर्षण देखिएको थियो ।
गल्याङ नगरपालिकाको आयोजना तथा करुणा ड्राइभिङ इन्स्टिच्युट र प्रिन्स ड्राइभिङ सेन्टरको सहजीकरणमा सञ्चालन गरिएको तालिममा नगरपालिका भित्रका ५० जना युवायुवती सहभागी भएका थिए । तालिममा सवारी चालकका लागि आवश्यक ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन, सडक अनुशासन तथा व्यवहारिक ड्राइभिङ सम्बन्धी ज्ञान र सीप प्रदान गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउने मात्र नभई सुरक्षित र जिम्मेवार चालक उत्पादन गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नगरपालिकाले युवालाई रोजगारीसँग जोड्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा जीवनोपयोगी सीप विकास गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले युवाको क्षमता अभिवृद्धि र रोजगारी सिर्जना नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै यस्ता तालिमले युवामा आत्मविश्वास बढाउनुका साथै व्यावसायिक जीवनको नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष ढाकाराम न्यौपानेले सिकेको सीपलाई व्यवहारमा उतार्दै सुरक्षित र जिम्मेवार चालक बन्न सहभागीलाई आग्रह गर्नुभयो ।
उक्त तालिममा सहभागी ५० जनामध्ये दुई जनाले सवारी चालक अनुमति–पत्र ९लाइसेन्स० समेत प्राप्त गर्न सफल भएका छन् । लाइसेन्स प्राप्त गरेका सहभागीहरूले छोटो अवधिमै प्रभावकारी र व्यवहारिक प्रशिक्षण प्रदान गरी सफलता हासिल गर्न सहयोग गरेको भन्दै गल्याङ नगरपालिका, करुणा ड्राइभिङ इन्स्टिच्युट र प्रिन्स ड्राइभिङ सेन्टरप्रति आभार व्यक्त गरेका छन् ।
उनीहरूले यस्ता सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने भएकाले आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् ।
उक्त कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिकाका रोजगार शाखा प्रमुख खगेन्द्र भण्डारीले गर्नुभएको थियो ।









